२९ मंसिर, चितवन । गृहमन्त्री रामबहादुर थापाले देशमा व्यवस्था उल्ट्याउन कसरत भइरहेको बताएका छन् ।
चितवनमा पत्रकारहरुसँग कुरा गर्दै कोभिडका कारण उत्पन्न भएको संकटबाट संविधान विरोधी र अहिलेको व्यवस्था विरोधीहरु सक्रिय भएको दाबी गरे । अहिलेको प्रणाली र संविधानलाई नै उल्ट्याउने अवसर आएको निष्कर्ष सहित राजावादीहरु समेत सक्रिय भएको बताउँदै मन्त्री थापाले सरकार विरोधीहरुले सरकारलाई विस्थापित गर्न सकिन्छ की भन्ने पनि प्रयास गरिरहेको बताए । यसै सन्दर्भमा प्रमुख प्रतिपक्षी दलले समेत देशव्यापी रुपमा सरकार विरोधी प्रदर्शन गरेको उनको दाबी छ । सचिवालय सदस्य समेत उनले फरक प्रसंगमा पार्टी भित्र देखिएको विरोध स्वभाविक भएको पनि बताए । पार्टी भित्र बसेर सरकारलाई कमजोर बनाउने काम भइराखेको अवस्थामा स्थायी कमिटी बैठक बसेको र त्यहीबाटै समस्या समाधान हुने पनि उनले बताए । गृहमन्त्री थापाले पार्टी फुट्ने भन्दापनि थप मजबुत बनेर जाने दाबी गरे ।