१ पुष, काठमाडौं । सरकारले पुषभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ ।
तर एन्टीजेनको वैधानिकताबारे स्वास्थ्य विज्ञहरुले नै प्रश्न गरिरहेका छन् । समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर पत्ता लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेन परीक्षण गर्ने भएको हो । मन्त्रालयका कोभिड–१९ स्रोत व्यक्ति महेन्द्रप्रसाद श्रेष्ठले परीक्षणका लागि देशभरि नै कर्मचारी खटाइएको जानकारी दिए । उनका अनुसार आगामी आइतबारदेखि देशैभरि एन्टिजेन परीक्षण शुरु गरिने छ । दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका ठाउँमा उक्त परीक्षण गरिने उनले बताए । यसअघि इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायस्तरमा सङ्क्रमण फैलिएको अवस्था पत्ता लगाउन ‘सेरो सर्भेलेन्स’ गरेको थियो । जसमा १३.९ प्रतिशत मात्र समुदायका मानिसलाई संक्रमण देखिएको थियो । ठूलो संख्यामा गरिने एन्टिजेन परीक्षणबाट १५ मिनेटमा नै संक्रमण भए÷नभएको पत्ता लाग्ने छ । एन्टिजेन परीक्षणका लागि प्रयोगशालाको आवश्यकता पर्दैन । यस विधिबाट परीक्षण गर्दा स्वाबलाई परीक्षण कीटमा राखेर केही क्षणमै नतिजा थाहा पाउन सकिन्छ ।