४ पुस, विराटनगर ।
आज बालागुरु षडानन्दको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपालमै पहिलोपटक नागरिकको सहयोगमा संस्कृत पाठशाला स्थापना गरेका षडानन्दको योगदानको सम्झना गरी जन्मजयन्ती मनाउन लागिएको हो ।
विसं १८९२ मंसिर शुक्ल पञ्चमीका दिन भोजपुरको दिङ्लामा जन्मेका षडानन्दले विसं १९३२ मा संस्कृत पाठशाला स्थापना गरेका थिए ।
यो औपचारिकरुपमा स्थापना भएको नेपालको पहिलो पाठशाला मानिन्छ । षडानन्दले दिङ्ला भञ्ज्याङमा हरेक शनिबार हाटबजार लाग्ने व्यवस्था समेत मिलाएका थिए ।
रुद्राक्ष खेतीलाई व्यावसायीक खेती गर्न समेत उहाँको योगदान छ । रुद्राक्ष खेती अहिले भोजपुर, सङ्खुवासभा, धनकुटालगायतका जिल्लामा गर्ने गरिन्छ । षडानन्दले सतीप्रथा उन्मूलनका लागि समेत उत्प्रेरित गरेका थिए ।