१९ पुस, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई उपचार गर्न गराउन सबै प्रदेश तथा अस्पतालहरुलाई निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गोतमले आजको प्रेस व्रिफिङमा एन्टीजेन परीक्षण गर्ने क्रममा संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई संक्रमित मानी उपचार गर्न गराउन कोभिड संकट व्यवस्थापन केन्द्र, सातै प्रदेशका सामाजिक विकास मन्त्रालय र अस्पतालहरुलाई निर्देशन गर्ने निर्णय भएको जानकारी दिए ।
आज थप ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ८ सय वटा पिसिआर परीक्षण गर्दा २ सय ४६ पुरुष र १ सय ७५ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ ।
यस्तै आज ६ सय ३७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको छ । तथ्याङ्क अनुसार हालसम्म ९७ दशमलव २ प्रतिशत कोरोना संक्रमित निको भएका हुन् ।
देशभर रहेका ५ हजार ४ सय ८७ जना संक्रिय संक्रमितमध्ये १ सय ९९ जनाको आइ.सी.यू र ३५ जनाको भेण्टिलेटरमा उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणका कारण आज थप ८ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमण पछि मृत्यु हुनेको संख्या १ हजार ८ सय ७८ पुगेको छ ।