पेट्रोलियम अन्वेषणको नतिजा लिएर फर्किएन चिनियाँ टोली

दैलेख : सेस्मिक सर्भेको नतिजा लिएर चिनियाँ टोली नफर्कंदा पेट्रोलियम पदार्थ अन्वेषणको काममा ढिलाइ भएको छ । चिनियाँ प्राविधिक टोलीको नतिजाका आधारमा दोस्रो चरणको सर्भे र ड्रिलिङको काम हुने भनिए पनि चिनियाँ टोली नफर्कंदा अन्वेषणको काम अन्योलमा परेको हो ।

Advertisement

कोरोना महामारीको कारण देखाउँदै चिनियाँ विज्ञ र प्राविधिकको टोली नआएको खानी तथा भूगर्भ विभागले जनाएको छ । विभागका अनुसार सन् २०१९ फेब्रुअरीमा चिनियाँ टोलीसँग गरिएको सम्झौताको म्याद सकिन लागेको छ । चिनियाँ टोलीसँग गरिएको तीन चरणको सम्झौताअनुसारको पहिलो स्थलगत अध्ययनको कामको नतिजा नै समयमै उपलव्ध नहुँदा अन्वेषणको काम अन्योलमा परेको हो ।

नेपाल र चीन सरकारबीच पेट्रोलियम पदार्थ अन्वेषणका लागि सन् २०१७ मा पहिलोपल्ट सम्झौता गरिएको थियो । समयमै काम हुन नसकेपछि उक्त म्याद बढाएर २०१९ फेब्रुअरीसम्मको सम्झौता गरिएको छ । २०२२ सम्म सबै काम सक्ने गरी आयोजनासँग चिनियाँ टोलीले सम्झौता गरेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत गणेशनाथ त्रिपाठीले बताए । उनका अनुसार अहिलेसम्म सेस्मिक सर्भेको रिपोर्ट आएको छैन । अन्वेषणको काम समयमै नहुँदा स्थानीय निराश छन् । ‘सर्भेको नाममा करोडौं रुपैयाँ स्वाहा भयो,’ स्थानीय पदम खड्काले भने, ‘सरकारले ठूलो आश देखायो तर उपलब्धि केही भएन ।’ अब विभिन्न वहानामा म्याद थप्दै सर्भेको काम लथालिंग हुने उनको गुनासो छ ।

Advertisement

सरकारले सम्झौता गर्ने र म्याद थप्ने काम मात्र गर्दा स्थानीयको आशा निराशामा परिणत भएको नागरिक अगुवा खड्कराज सिजापतिले बताए । ‘उत्खनन र अन्वेषणको काम सुरु हुँदा धेरैले रोजगारी पाएका थिए,’ उनले भने, ‘चिनियाँ टोलीले समयमै रिपोर्ट नबुझाउँदा युवाहरू बेरोजगार भएका छन्, अन्वेषण गर्न ल्याइएका करोडौंका सामग्री बेवारिसे बने ।’, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top