१८ माघ, वीरगञ्ज ।
वीरगन्जस्थित भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । सो अवधिमा सबैभन्दा बढी डिजेल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
नेपालमा खपत हुने कूल परिमाणको पेट्रोलियम पदार्थको आधा भाग वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने गरेको छ । तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको छ महिनामा ४७ अर्ब ८७ करोड १७ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ भारतबाट आयात भई नेपाल भित्रिएको छ । यसमध्ये २३ अर्ब मूल्य बराबरको डिजेल आयात भएको हो ।
तुलनात्मक रुपमा हेर्ने हो भने अघिल्लो आर्थिक वर्ष २०७६–७७ को सोही अवधिमा डिजेल आयात तीन प्रतिशतले वृद्धि भएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी सङ्घीय सरकारले लगाएको नाकाबन्दीको कारण सुरुमा डिजेल आयात घटे पनि असोजदेखि आयात क्रमशः बढ्दै गएको भन्सार अधिकृत शैलेन्द्र अधिकारीले बताए।
चालू आर्थिक वर्षको ६ महिनामा पाँच लाख चार हजार लिटर डिजेल पाइपलाइनबाट अमलेखगन्ज डिपोमा भित्रिएको छ भने अघिल्लो आर्थिक वर्षको छ महिनामा चार लाख ९१ हजार लिटर इन्धन नेपाल भित्रिएको हो ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ५८ प्रतिशतले कोइलाको आयात बढेको छ । सो अवधिमा चार लाख आठ हजार मेट्रिक टन कोइला नेपाल भित्रिएको छ ।