२१ माघ, काठमाडौँ । कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक सातामा १ लाख २८ हजार बढीले कोरोना खोप लगाएका छन् । मुलुकभरका २ सय १ बुथबाट करिब १ लाख २८ हजारभन्दा बढीले खोप लगाएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना खोप लगाएका कुनै पनि व्यक्तिमा गम्भीर खालको लक्षण देखिएको छैन ।
ज्वरो तथा केही असहज अवस्था आए आराम गर्नुपर्ने जनाउँदै सामान्य लक्षण केही समयपछि आफै निकोहुँदै जाने मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले बताए ।
अधिकारीका अनुसार यो खोप पनि अरू खोप लगाउँदा जस्तै सामान्य असर देखिन सक्छ । खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महसुस हुने, वाकवाकी लाग्ने, बान्ता आउने आदि जस्ता हुन सक्छ ।
माघ १४ गते सुरु गरिएको खोप अभियानमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालकलगायत कोरोना महामारीमा अग्रपंक्तिमा रहेर खटिने सेवाप्रदायक गरी आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिलाई खोप लगाउने सरकारले लक्ष्य राखेको छ ।
मन्त्रालयलका अनुसार खोप लगाएपछिको स्थिति अनुगमन तथा व्यवस्थापन गर्न मुलुकभर विज्ञ चिकित्सकहरूको टोली परिचालन गरिएको छ ।
अक्सफोर्ड र एस्ट्राजेनेकाद्वारा विकसित तथा सेरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादीत ‘कोभिसिल्ड’ खोपको १० लाख डोज भारत सरकारले नेपाललाई अनुदानमा सहयोग गरेको हो ।
सोही खोप अहिले देशभर अग्रपंक्तिमा रहेर खटिने कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई लगाईंदैछ ।