३० माघ, काठमाडौँ । सरकारले २३ फागुनदेखि आम सार्वसाधारणलाई कोरोना खोप दिने तयारी गरेको छ ।
भारतले १० लाख डोज खोप अनुदान दिएपछि १४ माघदेखि खोप अभियान सुरु भएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत ४ लाख ३० हजार फ्रन्टलाइनरलाई खोप लगाउने सरकारको लक्ष्य थियो । तर ११ दिनको अभियानमा देशभर एक लाख ८४ हजार ८ सय ५७ जनाले मात्र खोप लगाए ।
२६ माघदेखि ३० माघसम्म पत्रकार र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुलाई खोप दिइयो भने २ फागुनदेखि ८ गतेसम्म सरकारी कर्मचारी, बैंकका कर्मचारी स्थानीय तहका जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी र पहिलो चरणमा जुटेकाहरुलाई कोरोना खोप दिइनेछ । यसका लागि स्थानीय पालिकासम्मै खोप केन्द्रहरु तय हुनसक्ने बताइएको छ ।
जबकी सरकार आफैंले बनाएको प्राथमिकता सूचीमा फ्रन्टलाइनरपछि जेष्ठ नागरिक थिए । जनस्वास्थ्य विज्ञहरुले पनि खोप पाउनु हरेक नागरिकको अधिकार भएपनि प्राथमिकतामा जेष्ठ नागरिक र दीर्घरोगी पर्नुपर्ने बताउँदै आएका छन् ।
खोप वितरणको प्राथमिकता परिवर्तन नगरेको तर, उपलब्धता हेरेर निर्णय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतका खोप महाशाखाको प्रमुख डा. झलक गौतम बताउँछन् ।
अब थप खोप आउन निश्चित जस्तै भएको भन्दै समुदायमा जाने योजना बनाइएको छ । फागुन २३ गतेदेखि ५५ बर्षमाथि उमेर समूहलाई खोप दिने योजनाअनुसार काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका प्रमुख डा. भीम सिंह तिंकरीका अनुसार खोप खरिद प्रक्रिया अन्तिम चरणमा पुगको बताउँछन् ।
मन्त्रालयका स्रोत अनुसार भारतको सेरम इन्स्टिच्युटको कोभिसिल्ड खोप केही खरिद गरेर र केही अनुदानमा आउन लागेको छ । पहिलो चरणमा २० लाख डोज खोप ल्याउन कम्पनीका प्रतिनिधिसँग कुराकानी भइरहेको छ । यसका साथै कोभ्याक्समार्फत पनि फेब्रुअरी अन्तिमसम्म कोरोना खोप आइपुग्ने अपेक्षा छ ।