१० फागुन, विराटनगर ।
विगतमा १८ घण्टासम्मको लोडसेडिङ भोगेको नेपालले केही वर्ष यता आधिकारिक रुपमा घोषणा गरिएको लोडसेडिङ भोग्नु परेको छैन ।
पछिल्ला वर्षहरुमा राष्ट्रिय विद्युत प्रशारणमा विद्युत थपिने क्रम जारी रहेको छ । यसैक्रममा नेपालमा निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा ठूलो सौर्य परियोजना ढल्केवर पावर ग्रिडमा जोडिएको छ ।
प्रदेश नम्बर २ को धनुषा जिल्लास्थित ढल्केबरमा निर्माण गरिएको १० मेगावाट एसी क्षमताको सौर्य ऊर्जा राष्ट्रिय ग्रिडमा जोडिएको हो । परियोजनाको स्वामित्व नवीन सिंह अध्यक्ष रहेको इको पावर डेभलपमेन्ट कम्पनीमा छ ।
विराटनगरका उद्योगी प्रशान्त तातेड अध्यक्ष रहेको नेपालको सबैभन्दा ठूलो ईपीसी ठेकेदार कम्पनी कुशल प्रोडक्ट्सले यस परियोजनाको डिजाइन, आपूर्ति, निर्माण र जडानको काम ठेक्कामा गरेको हो ।
अध्यक्ष तातेडका अनुसार कुशल प्रोडक्ट्सले नेपालका थप ५ स्थानमा ग्रिड जडान गर्ने र सौर्य परियोजनाका लागि ईपीसी अर्थात इन्जिनियरिङ, प्रोक्युरमेन्ट र कन्स्ट्रक्सन प्राप्त गरिसकेको छ ।
नेपाल विद्युत् प्राधिकरणले सोलार प्रोजेक्टमार्फत् १५ प्रतिशत ऊर्जा मिश्रण गर्ने लक्ष्य राखेको छ । यसबाट नेपाललाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउन सकिनेछ ।
ऊर्जा क्षेत्रमा आत्मनिर्भर बन्न प्राधिकरणलाई कम्तीमा २ सय मेगावाट सौर्य ऊर्जाको तत्काल आवश्यकता रहेको बताइएको छ । यसपछि ऊर्जा मिश्रणको अवधारणाअनुरूप काम गर्दा जाडो यामको माग पूरा हुने विश्वास लिइएको छ ।
आयोजनाले मासिक १० लाख युनिटभन्दा बढी बिजुली उत्पादन गरेर आयात प्रतिस्थापन गर्ने लक्ष्य राखिएको छ । परियोजनाबाट औसत वार्षिक विद्युत् १ सय ९४ लाख युनिट हुने विश्वास गरिएको छ ।