नैरोवी, असार १४
केन्याको सवैभन्दा ठूलो खुल्ला बजार गिकोम्बामा भएको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । राजधानी नैरोवीको ग्रामिण क्षेत्रमा रहेको सो बजारमा भएको घटनामा परी अरु पचास जनाभन्दा बढी घाइते भएको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।
“स्थानीय समय अनुसार बुधबार राती २ बजेतिर घटना भएको थियो, घाइतेहरुलाई स्थानीय केन्याटा राष्ट्रिय अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ,” अस्पतालका एक अधिकारीले भने ।प्रत्यक्षदर्शीहरूले आगोले जलेका केही व्यक्तिहरु घाइते अवस्थामै दौडेको देखेको बताएका छन् ।
एक पटक प्रयोग भइसकेको कपडा, विद्युतीय सामग्रीहरु, किराना सामानलगायतका सामानहरु बेच्ने बजारको रुपमा सो बजार चर्चित थियो । घटनामा परी घाइते भएकामध्ये केहीको अवस्था चिन्ताजनक रहेको अस्पतालका स्वास्थ्यकर्मीहरूले जनाएका छन् । आगलागी भएको बजार नजिकै रहेका घरहरुमा पनि आगोको असर पुगेको छ ।
नैरोवी प्रहरी कार्यालयका प्रमुख जोसेफ ओल टिटोले घटनाका बारेमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडी बढाइएको जानकारी दिए ।
भियतनाममा बाढीमा परी २२को मृत्यु
भियतनामको उत्तरी भागमा पर्ने पहाडी इलाकामा जारी भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ ।यस प्रकोपमा परी थप नौ जना अझै वेपत्ता रहेका यहाँको राष्ट्रिय प्रकोप नियन्त्रण विभागले बिहीबार जानकारी दिएको छ ।
भियतनामको तीन वटा प्रान्तमा आएको यस बाढी र पहिरोमा परी ती व्यक्तिको मृत्यु भएको र बेपत्ता भएका सो विभागले थप जानकारी दिएको छ ।
एक हप्तायता भियतनाममा भारी वर्षापछि जारी यस बाढी र पहिरोको कारण २१ करोड अमेरिकी डलर बराबरको नोक्सानी भएको सरकारी स्रोतले जानकारी दिएको छ ।
रासस