×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

वर्षेनी बढ्दो प्राकृतिक विपत्ति, पहिराेबाट हुने क्षति बढ्दै जाने जोखिम

१७ श्रावण २०७८

१७ साउन, काठमाडौँ ।

पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई हजारभन्दा कम घटना भएका थिए ।

Advertisement
Advertisement

विसं २०७३ पछि विपद्का घटना क्रमशः दुई हजारबाट उकालो लागेकामा पछिल्ला केही वर्ष (विसं २०७५–२०७७) मा भने चार हजार बढी प्राकृतिक विपत्ति निम्तिए ।

बाढीका कारण हुने मानवीय क्षति घटे पनि पहिराबाट हुने क्षति बढ्दै जाने अर्को जोखिमको विषय बन्न पुगेको छ । अधिकांश घटना मनसुनका बेला भएकाले उक्त तथ्याङ्कले नेपालमा मनसुनजन्य जोखिम थप चुनौतीपूर्ण रहेको देखिएको छ ।

विपद् व्यवस्थापन विज्ञ कृष्ण देवकोटा पछिल्ला वर्षमा पहिराबाट हुने विपद् थप चुनौतीपूर्ण बन्दै गएको बताउँछन् । उनका अनुसार विपद्का दृष्टिले भूकम्पलाई छाडेर हेर्दा पछिल्लो दशक बाढीका कारणले हुने मृत्यु दर घटेको तर पहिराबाट हुने क्षति भने बढेको छ । उनले बाढी र पहिराजन्य घटना भने बढेको छ ।

“मुख्यतः पूर्व सूचना प्रणाली तुलनात्मकरुपमा प्रभावकारी देखिएकाले र जनचेतना बढेकाले सावधानी अपनाउने क्रम बढ्दा बाढीबाट हुने क्षति घटेको हो, भलै कुनै कुनै वर्ष बढेको हुनसक्छ, देवकोटाले अगाडि थपे, “तुलनात्मकरुपमा पहिराबाट मृत्यु बढेको छ ।”

उहाँ यसरी पहिरो बढ्नुमा पहाडी इलाकामा बाटोको सङ्ख्या वृद्धि हुने तर रोकथामका उपाय नअपनाइनु कारक हो भन्नुहुन्छ । अर्को कारण भने एकै ठाउँमा धेरै पानी (हाँडीघोप्टे पानी) पर्दा भेल पहिराले जनधनको ठूलो क्षति गराएको छ ।

गएको दुई वर्षमा सिन्धुपाल्चोक, बागलुङ, मनाङ, कास्की, तनहुँ, लमजुङ, पर्वतलगायत दर्जन जिल्लामा एकै ठाउँमा बढी पानी परेर भेल पहिरो आएको देखिएको छ ।

पछिल्लो एक दशक (विसं २०६८–२०७७) मा विपद्का २४ हजार ५८६ घटना भयो । उक्त विपद्बाट चार हजार ५६ को मृत्यु भएकामा त्यसको आधा मानवीय क्षति बाढी र पहिराले गराएको छ ।

उक्त अवधिमा सबैभन्दा बाढी पहिराले एक हजार २०५, दोस्रोमा चट्याङबाट ९९९, तेस्रोमा बाढीले ७९४ र चौथो नम्बरमा आगलागीले ७१० को ज्यान लियो ।

एक दशकको छ वर्ष बाढीले बढी मानवीय क्षति गराएको छ । प्राप्त विवरणअनुसार पहिराबाट बढी क्षति (विसं २०६८, ७०, ७१, ७२, ७३ र ७७ मा क्रमशः १२६, १३१, १२९, १३५, १४७ र ३०१ को मृत्यु) भएको छ ।

चट्याङले विसं २०६८, ६९ र ७६ मा बढी मानवीय क्षति गरायो । बाढीले २०७४ सालमा मात्रै बढी क्षति (१६६ मृत्यु) गराएको छ भने आगलागीबाट विसं २०७५ सालमा सबैभन्दा बढी ८९ जनाको मृत्यु भयो । विपद्बाट एक दशकमा ८१३ बेपत्ता र आठ हजार २२९ जना घाइते भए ।

एक लाख १९ हजार परिवार प्रभावित भएकामा ५२ हजार ८३० घर आंशिक र छ हजार ४५६ घर पूर्ण क्षति भएको छ । यसबाट कूल रु ३८ अर्ब ९५ करोड १४ लाख क्षति भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

आगलागी र चट्याङले नजानिँदो रुपमा मानवीय क्षति गराइरहे पनि घटना न्यूनीकरणको प्राथमिकतामा पर्न सकिरहेको छैन ।

यद्यपि, यसपालिबाट भने आगलागीका घटना नियन्त्रणमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चासो दिन थालेको छ ।

यस पटक हेलिकप्टरमार्फत आगलागी नियन्त्रणका प्रयास गरिएको थियो । यो नेपालमै पहिलो अभ्यास भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउनुहुन्छ ।

विपद्का घटना बढ्न थालेपछि सरकारले आगामी १० वर्षभित्रमा नेपाललाई विपद् उत्थानशील राष्ट्र बनाउने उद्देश्यका साथ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी १० वर्षे महाअभियान सुरु गरेको छ ।

सरकारले विपद्बाट प्रभावितको पुनः स्थापनका लागि अस्थायी आवास पुनः निर्माण कार्यक्रमलाई समेत गएको वर्षबाट तीव्र रूपमा अघि बढाएको छ । विश्वकै अग्लोदेखि निकै होचो भूभाग रहेको र भिरालो जमिन प्रशस्त रहेकाले मनसुनजन्य विपद्बाट नेपाल उच्च जोखिममा रहेको छ ।

गृह मन्त्रालयको नेपाल विपद् प्रतिवेदन २०१९ अनुसार मनसुनजन्य प्रकोपका कारण वार्षिक झण्डै एक हजारले ज्यान गुमाउने गरेका छन् । जल प्रकोपका कारण हुने मृत्युका हिसाबले नेपाल दक्षिण एसियामा नै सबैभन्दा उच्च जोखिम भएको मुलुकमा पर्छ । भूकम्प र जलप्रकोपबाट बढी क्षति पुग्ने देशमध्ये नेपाल विश्वमा क्रमशः ११औँ र ३० औँ स्थानमा छ ।

जलवायु परिवर्तनको जोखिमका दृष्टिले नेपाल चौथोमा पर्छ । प्राप्त तथ्याङ्कमा नेपालमा ७० देखि ८० प्रतिशत जनसङ्ख्या कुनै न कुनै विपद्को जोखिममा छन् । वार्षिक तीन लाख ३५ हजार जनसङ्ख्या प्रत्यक्ष प्रभावित हुने र तीमध्ये ५० प्रतिशत बालबालिका प्रभावित हुने गरेको छन् ।

मनसुनजन्य विपद्बाट क्षति रोक्ने पूर्व तयारी प्रमुख उपाय हो । भरपर्दो सूचना सङ्कलन, सम्भावित जोखिम र क्षतिको आँकलन, समयमै आवश्यक सूचना प्रवाह र त्यसबाट उत्पन्न हुने परिस्थितिको सामनाका लागि गर्नुपर्ने तयारी चुस्त बनाउन सकिएन भने विपद्बाट ठूलो धनजनको क्षति हुने सम्भावना हुन्छ ।

समय परिस्थिति बुझेर आवश्यक तयारी र सचेतनाका कार्यक्रम नियमित गर्नुपर्ने विज्ञको सुझाव छ । हरेक वर्ष दोहोरिने बाढी, पहिरो, डुबान चट्याङ र आगलागीबाट क्षति रोक्न उच्च तयारी आवश्यक छ ।

प्राधिकरणका प्रमुख पोखरेल जोखिम न्यूनीकरणमा ठूलो लगानी आवश्यकता रहेको औँल्याउनुहुन्छ । “जोखिम क्षेत्रका बस्ती सुरक्षित ठाउँमा लैजानुपर्छ, जोखिम आँकलन गरेर बिमा कार्यक्रम पनि चलाउन जरुरी”, पोखरेलले भन्नुभयो, “पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हाम्रो उद्धार क्षमता वृद्धि गर्नु अत्यावश्यक भइसकेको छ ।” उहाँका अनुसार २०७२ सालको भूकम्पपश्चात् हेर्दा एउटाले अर्कोलाई तानेको देखिन्छ ।

भूकम्पले हल्लाएर पहाड कमजोर बनायो, त्यसले पहिरो निम्त्यायो, त्यही बग्दा बाढी बढ्यो, जलवायु परिवर्तनका कारण पानी पर्ने प्रणालीमा उथलपुथल ल्यायो । अब त्यसबाट पाठ सिकेर कमजोर भूवनोट व्यवस्थापनका लागि विशेष योजना बनाउनु जरुरी रहेको पोखरेलले बताउनुभयो । नेपाल सरकारले ल्याएको विपद् व्यवस्थापनको महाअभियान त्यसैको एउटा कडी हो ।

विपद्बाट कुन वर्ष, कति क्षति?
बाढी पहिराका हिसाबले दशकै सबैभन्दा जोखिम वर्ष २०७७ बन्न पुग्यो ।

गएको वर्ष मुलुकले अकल्पनीय रुपमा मानवीय क्षति बेहोरेको छ । गत वर्ष औसत पानी पर्ने अनुमानका बीच केही ठाउँमा अतिवृष्टि भएर भेल पहिरो आएको थियो ।

यस वर्ष औसतभन्दा बढी पानी पर्ने भनिए पनि सिन्धुपाल्चोक र मनाङबाहेक गत वर्षको तुलनामा कम क्षति छ । यद्यपि, वर्षा भने जारी रहेकाले चुनौती कायमै छ ।

विसं २०७८ को हालसम्म यो वर्षको अहिलेसम्म कूल एक हजार ३०८ विपद्का घटना भएका छन् । कूल १५१ जनाको मृत्यु भएको छ भने ३७ जना बेपत्ता छन् । यसमा सबैभन्दा बढी चट्याङबाट ३८ जनाले ज्यान गुमाएका छन् ।

पहिराले ३४ र बाढीले २६ जनाको ज्यान लिएको छ । पहिराले सबैभन्दा बढी २९ जना बेपत्ता बनाएको छ भने बाढीले सात र हावाहुरीले एक जना बेपत्ता पारेको छ । आगलागीबाट १२ को मृत्यु भएको छ । रु ६३ करोडको भौतिक क्षति भएको छ । यसपालि मुलुकमा सिन्धुपाल्चोक र मनाङलगायत ४८ जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

विसं २०७७ विसं २०७७ मा कूल चार हजार २०५ प्राकृतिक विपत्तिमा ५९१ जनाको मृत्यु भएको छ भने १०१ जना बेपत्ता भए । यो दशककै सबैभन्दा बढी मानवीय क्षति भएको वर्ष हो ।

पहिराले मात्रै ३०१ व्यक्तिको ज्यान लियो भने ६४ बेपत्ता भए । त्यसपछि आगलागीबाट ९७ र चट्याङबाट ७० जनाले ज्यान गुमाएका छन् । बाढीबाट ४२ को मृत्यु र ३७ बेपत्ता भए ।

विसं २०७६
यो वर्ष चार हजार ३४ विपद्का घटनामा ३८१ को मृत्यु भएको छ । कूल ४८ जना बेपत्ता भए । यस वर्ष सबैभन्दा बढी चट्याङका कारण ८८ जनाले ज्यान गुमाए । पहिरोले ८३ र बाढीले ७३ को ज्यान लियो ।

विसं २०७५
यस वर्ष चार हजार १७२ घटनामा ३६६ को मृत्यु भएको छ । जसमा सबैभन्दा बढी आगलागी र पहिराका कारण क्रमशः ८९ र ८८ ले ज्यान गुमाए ।

विसं २०७४
यस वर्ष दुई हजार ६२९ घटनामा ४४८ को मृत्यु भयो । कूल ५७ जना बेपत्ता भएका छन् । उक्त वर्ष बाढीले १६६ र चट्याङका कारण १०५ को मृत्यु भयो । पहिराले ७५ को ज्यान लियो ।

विसं २०७३
विसं २०७३ मा दुई हजार ५२९ विपद्का घटनामा ४२६ ले ज्यान गुमाए । कुल ४५ जना बेपत्ता भएको अभिलेख छ । जसमा सबैभन्दा बढी पहिराले १४७, चट्याङले ११४ र बाढीले १०१ को ज्यान लियो ।

विसं २०७२
यो साल विपद्का ९८९ घटनामा ३०० जनाले ज्यान गुमाए भने १६ बेपत्ता भए । जसमा सबैभन्दा बढी पहिराबाट १३५ जनाले ज्यान गुमाएका छन् । चट्याङले ८३ र आगलागीबाट ७३ को मृत्यु भएको छ ।

विसं २०७१
विपद्काका एक हजार २२३ घटनामा ४४९ जनाको मृत्यु भएको छ भने २६२ बेपत्ता भए । उक्त वर्ष बाढीबाट १२९ मृत्यु र १३३ बेपत्ता तथा पहिराबाट ११६ को मृत्यु र १२९ बेपत्ता भए । यो सबैभन्दा बढी मानिस बेपत्ता भएको वर्ष हो । चट्याङबाट १२६ ले ज्यान गुमाएका छन् ।

विसं २०७०
उक्त वर्ष विपद्सम्बन्धी एक हजार ४८३ घटना भएकामा ३८८ को मृत्यु र १५५ जना बेपत्ता भए । सबैभन्दा बढी बाढीबाट १३१ जनाले ज्यान गुमाए । चट्याङबाट १११ को मृत्यु भएको थियो । पहिराले ७९ को मृत्यु भएको छ ।

विसं २०६९
त्यस वर्ष एक हजार ७३३ विपद्का घटना भयो । त्यसमा परेर कूल २८२ जनाको मृत्यु भयो भने १५ जना बेपत्ता भए । सबैभन्दा बढी चट्याङबाट १३१ जनाको मृत्यु भयो भने पहिराले ६८ र आगलागीबाट ६३ ले ज्यान गुमाए । बाढीबाट नौ जनाको मृत्यु भयो ।

Advertisement

विसं २०६८
कूल एक हजार ५७४ घटनामा ४२४ को मृत्यु भयो भने ११९ जना बेपत्ता भए । यसमा बाढीबाट १२६, पहिरोबाट ११३ र चट्याङबाट १०३ को मृत्यु भयो । रासस

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top