विमला वली : बन्धक कि अनिर्णयको बन्दी ?

विमला वली : बन्धक कि अनिर्णयको बन्दी ?

 बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको डिजाइनमा एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालसहितको टोलीले लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीलाई दाङ तुल्सीपुरबाट अपहरणको शैलीमा बुटवल ल्याएर बन्धक बनाएको तथ्य खुलेको छ ।

नेकपा माओवादी संसदीय दलको मूल ब्यानरमा बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा बन्धक बनाइराखेको बताउनुभयो । आफूले गत १९ वैशाखमै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र रोजेको जानकारी गराएको भन्दै उहाँले भन्नुभयो– ‘म माओवादी केन्द्रकी हो, माओवादीमै रहन्छु र छु ।’

यही १५ साउनमा नेकपा एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल र दाङका स्थानीय नेता मानबहादुर राउत वलीको तुलसीपुरस्थित घरमा पुगेको उहाँले बताउनुभयो । उहाँहरूले एमालेमा आउन दबाब दिएको, तर आफूले यसअघि नै इन्कार गरेको वलीको भनाइ थियो । आफू उपचारका लागि नेपालगञ्ज जान लागेको बताएपछि प्रमुख सचेतक ढकालले ‘हामी पनि नेपालगञ्ज जाने हो, सँगै जाऔं’ भनेकाले विश्वास गरेर गाडीमा बसेको वलीले बताउनुभयो ।’

तुलसीपुरबाट नेपालगञ्ज जानका लागि भन्दै महेन्द्र राजमार्गको अमिलिया पु¥याएपछि नेपालगञ्जतिर जानुपर्नेमा गाडी एक्कासि बुटवलतिर मोडेको भन्दै उहाँले भन्नुभयो– ‘मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिरहेँ तर मेरो कुरा उहाँहरूले सुन्नुभएन । उहाँहरूले एकपटक मुख्यमन्त्री शंकर पोखरेललार्ई भेट्नुप¥यो भनेर गाडी नरोकी एकैपटक मुख्यमन्त्री निवास बुटवलमा पुर्‍याइयो ।’

पत्रकार सम्मेलनमा उहाँले मुख्यमन्त्री पोखरेलले पहिला गल्ती भयो, अब त्यस्तो हुँदैन । एमालेमा आउनुस्, मन्त्री बन्नुस् भनेर प्रलोभन देखाएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मैले निरन्तर इन्कार गरिरहेँ । साउन १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवास बुटवलबाट बाहिर निस्कनै नदिई दबाब दिइरह्यो ।’ मुख्यमन्त्री निवासमै जबरजस्ती विज्ञप्तिमा हस्ताक्षर गर्न लगाएको तथा थप केही माइन्युटमा पनि आफूलाई हस्ताक्षर गराएको वलीले आरोप लगाउनुभयो । तर, हस्ताक्षर दलको बैठकको गराउनुभयो कि जिल्ला कमिटीको गराउनुभयो आफूलाई थाहा नभएको प्रतिक्रिया दिनुभयो ।

‘हस्ताक्षर गराएपछि अब घर जान दिन्छन् र बाहिर गएर खण्डन गर्छु भन्ने सोचेकी थिएँ, तर अझ कडाइका साथ साउन १९ गतेदेखि मुख्यमन्त्री निवासभित्रै बन्धक बनाए’ –उहाँको जिकिर थियो ।

उहाँले साउन २० गते मुख्यमन्त्री निवासमा मध्याह्नतिर सबै आराम गरिरहेका बेला शौचालयको चप्पल लगाएर भागेको र माओवादी केन्द्रको संसदीय दलमा अटो रिक्सा चढेर पुगेको बताउनुभयो । ‘भाग्ने त पहिल्यै प्लान गरेकी थिएँ । कमला विक माननीयले घर जान्छु भन्नुभयो, मैले हुन्छ भनेँ । त्यही बेला कसैलाई नदेखेपछि भागेर आएँ’ –पत्रकार सम्मेलनमा उहाँले घटनाबारे कारुणिक पीडा सुनाउनुभयो । उहाँले अझै पनि आफ्नो झोला र केही सामान मुख्यमन्त्री निवासमै रहेको समेत बताउनुभयो ।

सत्ता टिकाउन सांसद अपहरण गर्ने र बन्धक बनाउनेहरूलाई के कस्तो कारबाही हुने हो कसले कारबाही गर्ने र कस्तो कारवाही हुने हो त्यो भने सोचनीय विषय रहेको छ । पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले वलीको वास्तकिताका बारेमा जारी विज्ञप्ति पढेर सुनाउनुभएको थियो ।

यता, नेकपा एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्रीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्‍याएको दाबी गर्नुभएको छ । एमालेमै फर्किएको विज्ञप्ति पनि उहाँकै इच्छाअनुसार सार्वजनिक भएको ढकालले बताउनुभयो ।, याे समाचार नेपाल समाचारपत्रमा यमलाल भुसालले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.