हिमाली बस्तीमा पानी धेरै प-याे, पग्लन थाले परम्परागत घर

८ भदौ ७८, बुधबार

९ भदाै, गण्डकी।

दुई महिनाअघि हिमालपारिको जिल्ला मुस्ताङको नीलगिरि हिमाल आसपासको बस्तीमा भीषण वर्षा भयो । नीलगिरि हिमालका फेदीका बस्तीहरू लुप्रा, मार्फा, जोमसोम, छैरु, ठिनी, स्याङलगायतका गाउँमा वर्षाले ठूलै असर ग-यो । सामान्यतः पानी नै नपर्ने र परिहाले पनि अत्यन्त कम पर्ने ती बस्तीमा एकाएक ओइरिएको पानीले परम्परागत रुपमा निर्मित माटोका छत भएका यहाँका अधिकांश घरमा क्षति पुगेको मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका ज्येष्ठ नागरिक कालबहादुर थकालीले जानकारी दिए ।

“यस क्षेत्रमा यसअघिका वर्षमा यति धेरै पानी परेको मेरो अनुभवमा छैन,” ७५ वर्षीय थकालीले भने, “पछिल्ला वर्षमा बर्सेनि हिमालका माथिल्ला बस्तीमा पानी पर्ने क्रम बढ्दै गएको छ ।” मुस्ताङका अधिकांश बस्तीहरू माटोको शहरका रुपमा परिचित छन् । कम पानी पर्ने भएका कारण यहाँका अधिकांश घर माटोले छापिएका छन् । प्रायशः हिउँ मात्र परिरहने भएकाले छतमा जमेको हिउँ फालिदिएपछि अन्य कुनै समस्या बेहोर्नु नपर्ने यहाँका स्थानीयवासीको अनुभव छ । प्रायः चिसो भइरहने भएका कारण माटोले बनाइएका यहाँका घर वातावरण अनुकूलका मानिन्छन् । माटो छाइएका घरमा बाहिर जस्तोसुकै हिउँ परे पनि घरभित्र न्यानो भइरहन्छ । माटोका घर हिमाली क्षेत्रका बस्तीको मौलिकता भएको बताउँदै थकालीले पछिल्ला वर्षमा हिउँ पर्न छोडेर पानी पर्ने क्रम बढिरहेका कारण बस्तीहरू उच्च जोखिममा रहेको बताए ।

हिमाली क्षेत्रमा पानी पर्ने क्रम बढ्नुलाई जलवायु परिवर्तनसँग जोडेर हेर्न थालिएको छ । पछिल्ला वर्षमा बढ्दो तापक्रमसँगै तराई र मधेसका फाँटमा पाइने लामखुट्टे पहाड चढेको झन्डै तीन दशक पुगिसकेको छ भने हिमाली क्षेत्र पनि एक दशयता लामखुट्टेसँग परिचित बनेको छ । विगतमा लामखुट्टेको नामसमेत नसुनेका यहाँका स्थानीयवासीका लागि यतिखेर भने त्यसबाट बच्न झूल प्रयोग गर्नु बाध्यता जस्तै बनेको छ । एक दशकअघि सम्म हिउँ मात्र पर्ने ठिनीमा जलवायु परिवर्तनको असरसँगै पानी पर्न थालेपछि परम्परागत तवरले निर्माण गरिएका माटोका संरचना प्रत्येक वर्ष जोखिममा पर्दै गएका छन् । माटोको सहरका रुपमा आफ्नो छुट्टै मौलिकता बोकेका बस्तीमा पानी पर्ने क्रमसँगै पग्लन र भत्कन थालेपछि सिमेन्टको प्रयोगका साथै जस्ताले छाउन बाध्य हुनुपर्दा मौलिकता नै हराउने चिन्ता थपिएको छ ।

पानी पर्ने क्रमले हिमाली क्षेत्रमा बाढीपहिराको प्रकोप बढ्नाका साथै कृषि प्रणाली पनि प्रत्यक्ष प्रभावित बनेको छ । गर्मी क्षेत्रमा मात्र फल्ने बन्दा, काउली यतिखेर मुस्ताङको स्याङ, ठिनी लगायतका बस्तीमा पाउन थालिएको छ । तापक्रम बढेसँगै चाँदीजस्तै टलक्क टल्कने हिमालहरू बर्सेनि कालापत्थरमा परिणत भएका छन् । उपल्लो मुस्ताङका लोमन्थाङ, छोनुप, छोसेर, सुर्खाङ, चराङ, घमी लगायतका स्थानमा अत्यन्त कम मात्रामा हिउँ पर्न थालेपछि ती स्थानमा खानेपानीको अभाव बढ्दै गएको छ । पानीको चरम अभावसँगै छोसेरको सामजुङ बस्तीलाई ६÷७ वर्षअघि पानीकै खोजीमा नमासुङ गाउँमा सारिएको थियो ।

जलवायु परिवर्तनको असरसँगै हिमाली क्षेत्रमा फल्ने स्याउले आफ्नो ठाउँ छोडेर बिस्तारै उपल्लो भागतिर सर्दै गएको मुक्तिनाथ गाउँका पूर्वमुखिया सुरज गुरुङले जानकारी दिए । पछिल्लो २÷३ वर्षयता मुस्ताङका उपल्ला बस्तीमा पानी पर्ने क्रम बढिरहँदा कृषि प्रणालीमा प्रभाव पर्नाका साथै यहाँका माटाले बनेका संरचनाहरू सङ्कटग्रस्त बनिरहेको उनले बताए । “बढ्दो पानी पर्ने क्रमले माटो निर्मित यहाँका प्राचीन मौलिक बस्तीहरू बर्सेनि जोखिममा पर्दै गएका छन्,” स्थानीय जनप्रिय युवा क्लबका पूर्वअध्यक्ष एवम् होटेल ग्रान्ड साम्बालाका सञ्चालकसमेत रहनुभएका गुरुङले भने, “बस्तीहरू सङ्कटमा पर्दै गएको अवस्थामा आगामी दिनमा अझै बढ्न सक्ने् जोखिमीतर्फ राज्यको बेलैमा चासो पुग्नु आवश्यक छ ।”

बढ्दो तापक्रमकै कारण झन्डै १०÷१२ वर्षअघि सम्म स्याउको राम्रो उत्पादन हुने लेतेमा पछिल्ला वर्षमा स्याउ फल्नै छोडेको छ । हिमालहरू पग्लने क्रमसँगै नयाँ नयाँ हिमताल बन्ने क्रम बढिरहेको अवस्थामा बेमौसममा पनि बाढी आउन थालेको यहाँका स्थानीयवासी बताउँछन् । स्थानीयवासीका अनुसार मुस्ताङको लुप्रा गाउँमा स्थानीय पाण्डा खोलामा आएको बाढीले यहाँका केही घरमा क्षति पु¥याएको छ । पछिल्ला दिनमा लुप्रा खोलामा समयसमयमा माटो मिसिएको लेदोसहितको पानी आउने गरेको छ । हिमाली जिल्लामा पानी पर्ने क्रम बढिरहँदा माटाले बनेका संरचना जोगाउने चुनौती थपिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए । “हिमाली क्षेत्रमा पानी पर्ने क्रम बढेसँगै यहाँको माटोले बनेका घर तथा बस्ती जोगाउनाका साथै दुई चार सय वर्ष पुराना गुम्बा, मठमन्दिर लगायतका प्राचीन सम्पदा जोगाउनु यतिखेर गम्भीर चुनौतीका रुपमा देखिएको छ,” उनले भने।

तथ्याङ्कअनुसार पछिल्ला वर्षमा पहाडी भेगमा ०.०६ प्रतिशत र हिमाली भेगमा ०.०४ प्रतिशतका दरले तापक्रममा वृद्धि भइरहेको छ । प्राकृतिक एवम् मानवीय दुवै कारणबाट विश्वव्यापी तापमान बढिरहेको विज्ञहरूको तर्क छ । यसतर्फ बेलैमा सोच्न नसक्ने हो भने यसले पार्ने दीर्घकालीन असर भयावह रुपमा आउन सक्ने देखिएको छ । पोखरा भएर बग्ने सेती नदीमा केही वर्षअघि अपत्यारिलो तवरले हिउँदमा बाढी आएर करिब दुई दर्जन सर्वसाधारणको ज्यान गएको थियो । त्यस्तै पछिल्ला वर्षमा अन्नपूर्ण हिमालको हिउँ पग्लेर कास्कीको सिक्लेस गाउँमाथि नयाँ हिमताल अस्तित्वमा आएको छ । पछिल्लो उदाहरणका रुपमा एक महिना अघि मनाङको चामे खोलामा आएको बाढीले पारेको असर अर्को ज्वलन्त उदाहरण हो ।

पछिल्ला अध्ययनले जलवायु परिवर्तनको असरका कारण हिमताल फुट्दै, सुक्दै र हिमनदीका सीमामाथि सर्दै नदीहरू हिमालमाथि उक्लिरहेको तथ्य बाहिर आएका छन् । नेपालमा मात्र दुई हजार तीन सय २३ वटा हिमताल छन् । यसमध्ये महत्वपूर्ण मानिने हिमनदी र हिमाली क्षेत्रहरूबाट हिउँ पग्लदै जानु यतिखेर गम्भीर चुनौतीका रुपमा देखिएको छ । अहिले विश्वभर मानिसले पिउने पानीको कम्तीमा पनि ७० प्रतिशत पानीको स्रोत हिमखण्ड नै हो । यस्तो अवस्थामा हिउँ पग्लेर हिमाल कालापत्थरमा परिणत हुनु सबैको चासो र चिन्ताको विषय बन्न पुगेको छ ।

जलवायु परिवर्तनको असरसँगै मुस्ताङको तल्लो भेगमा पानी पर्न थालेपछि लेते लगायतका स्थानमा स्याउ खेती घट्दै गएको व्यवसायीको अनुभव छ । करिब २०÷२५ वर्षअघि मुस्ताङको लेते लगायतका तल्लो भेगमा स्याउको राम्रो उत्पादन हुने गरेकामा पानी पर्ने क्रम बढेसँगै उत्पादनमा कमी आउन थालेको स्थानीयवासी बताउँछन् । माथिल्ला गाउँमा स्याउ खेती बढ्दै जाँदा जोमसोम, मार्फा, कागबेनी, छुसाङ, सुर्खाङ, टुकुचे, ताङ्वेलगायत गाउँमा व्यावसायिक स्याउ खेतीको विस्तार भएको छ ।

हिमालपारिकै जिल्ला मनाङमा पछिल्लो समय गत असार १ गते आएको बाढीका कारण गाउँहरू नै डुबानमा परी बगरमा परिणत भएका थिए । जिल्लाको नासों गाउँपालिका–१ ताल गाउँ बगरमा परिणत भएसँगै त्यहाँका ५९ घरपरिवार विस्थापित बनेका थिए । ताल गाउँमात्र नभई यहाँका चामे, धारापानीलगायत स्थानमा सरकारी कार्यालयसहित घरहरू डुबानमा पर्दा ठूलो क्षति बेहोर्नुपरेको थियो । बाढीले चामे गाउँपालिका–१ तिमाङ खोलाको बेली ब्रिजसहित यहाँका १६ वटा झोलुङ्गे पुल, आठ÷१० वटा काठेपुल बगाएको पूर्वाधार विकास कार्यालय, मनाङका प्रमुख प्रल्हाद दहालले जानकारी दिनुभयो । पुलहरूमा क्षति पुगेपछि स्थानीयवासीहरू एक ठाउँमा आवतजावत गर्न समस्या भएको छ ।

मनाङमा यसअघि यस्तो ठूलो बाढी आएको स्थानीयवासीको अनुभवमा नरहेको बताउँदै दहालले भने, “यसअघि २०५२ सालमा मनाङमा केही बाढी भए पनि यस किसिमको बाढी आएको अनुभव यहाँका ज्येष्ठ नागरिक कसैलाई पनि रहेनछ, यसलाई जलवायु परिवर्तनको असरसँग जोडेर हेर्ने गरिएको छ ।” हिमाली क्षेत्रमा पानी पर्ने क्रम बढ्नु चुनौतीका रुपमा देखिएको उनले बताए ।रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top