वर्षा र डुबानका कारण शबस्टेशनमा क्षति, विद्युत् आपूर्ति बन्द

११ भदौ ७८, शनिबार

१२ भदाै, नवलपरासी ।

Advertisement

केही दिनको अविरल वर्षा र डुबानका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र परासीअन्तर्गतको शबस्टेशनमा क्षति पुगेपछि विद्युत् आपूर्ति बन्द भएको छ।

वर्षा र डुबानका कारण सो शबस्टेशनको ब्रेकरलगायत अन्य उपकरणमा पानी जमेकाले विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र परासीका प्रमुख चुटुनकुमार श्रीवास्तवले जानकारी दिए।

Advertisement

उनले भने, “वर्षा र डुबानका कारण ब्रेकरलगायत अन्य उपकरणमा पानी जमेकाले तत्कालै शबस्टेशनबाट विद्युत् आपूर्ति गर्न सक्ने अवस्था रहेको छैन।”

सो शबस्टेशनबाट विद्युत् आपूर्ति बन्द भएपनि तत्कालका लागि गण्डक पावर हाउस, बर्दघाट र सुनवल बजार क्षेत्रको शबस्टेशनबाट परासी वितरण केन्द्रअन्तर्गतका ग्राहकलाई विद्युत् आपूर्ति गरिएको उनको भनाइ छ।

Advertisement

डुबानका कारण परासीस्थित शबस्टेशनको कम्पाउण्ड वालमा क्षति पुग्दा स्टेशनभित्र पानी पसेर विद्युत् आपूर्तिमा महत्पूर्ण भूमिका निर्वाह गर्ने ब्रेकरसहित उपकरणमा निकै ठूलो क्षति पुर्‍याएको छ। केन्द्रका अनुसार यस शबस्टेशनबाट विद्युत् आपूर्ति गर्न अझै केही दिन लाग्ने छ। प्रमुख श्रीवास्तवले शबस्टेशन सञ्चालनका लागि आवश्यक जनशक्ति व्यस्थापनको तयारी गरिसकिएको र आजैबाट मर्मतसम्भारका काम सुरु गरिने जानकारी दिए।

सो केन्द्रअन्तर्गत करिब ४४ हजार ग्राहक छन्। तीमध्ये तत्कालका लागि ३५ हजार ग्राहकलाई गण्डक पावर हाउस, बर्दघाट र सुनवल बजार क्षेत्रको शबस्टेशनबाट विद्युत् आपूर्ति गरिएको हो।

ससाना उद्योगलाई विद्युत् आपूर्ति गरिए पनि ११ हजार केभिएको ट्रान्सफर्मरमार्फत सञ्चालनमा रहेका ठूला उद्योगधन्दालाई तत्काल सञ्चालन नगरिदिन आग्रह गरिएको प्रमुख श्रीवास्तवले जानकारी दिए। परासी वितरण केन्द्रअन्तर्गत सूर्यपुरा, सुनवल, महेशपुर र बञ्जरियास्थित कार्यालय पर्दछन्। यो केन्द्रअन्तर्गत कूल ४४ हजार ग्राहक छन्।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top