२१ भदौ, काठमाडौं ।
तीजको मुखमा तरकारीको भाउ महँगिएको छ ।
डेढ साताअघि देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो र डुबानका कारण तरकारी आयातमा अवरोध पुगेपछि भाउ बढेको होध्र
बाढीपहिरोले सडकमा क्षति पुगेर तरकारी आयात नै कम हुन थालेपछि उपत्यकामा तरकारीको भाउ आकाशिएको व्यापारी बताउँछन् ।
कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यले पछिल्लो साता तरकारी महँगो हुनुुको मुख्य कारण आयात नियमित नहुनुु नै भएको बताए ।
उनले भने, तरकारी बजारमा नआएको होइन आएको छ तर बिहान आउनुपर्ने तरकारी बेलुुका आउँछ जसले गर्दा कतिपय तरकारी कुुहिएर फाल्नुुपरेको पनि छ । यसले गर्दा पनि महँगो भएको छ ।
निषेधाज्ञाको अन्त्य भएसँगै बजारमा मानिसको चहलपहल बढ्नुुका साथै महिलाको महानपर्व तीजमा होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस खुलेकाले तरकारीको माग पनि पहिलेभन्दा अझै बढेको आचार्यले बताउनुभयो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कअनुसार केही दिनदेखि गोलभेँडाबाहेक अन्य तरकारीको भाउ महँगो भएको छ । थोक मूल्यमै भाउ बढेपछि खुद्रा व्यापारीले पनि मनोमानी रूपमा मूल्य बढाउँदै आएका छन् ।
समितिका अनुसार भदौको पहिलो साता प्रतिकेजी २०÷२५ रुपियाँमा पाइएको भिन्डी बढेर अहिले थोकमै ७० रुपियाँ पुुगेको छ । काँक्रो, सिमी, करेला पनि ३०÷४० रुपियाँबाट बढेर ८० देखि ९० रुपियाँ पुुगेको छ । काउली, बन्दा, घिरौँला, लौकालगायतका तरकारीको भाउ पनि महँगो भएको समितिले जनाएको छ ।
गोलभेँडा भने प्रतिकेजी २५÷३० रुपियाँबाट घटेर थोकमा २०÷२२ रुपियाँमा झरेको छ । समितिका अनुसार शनिवार बजारमा झन्डै एक हजार एक सय मेट्रिक टनको हाराहारीमा बजारमा तरकारी भित्रिएको छ ।
समितिका प्रवक्ता विनय श्रेष्ठले तरकारीको आयात घटेरभन्दा पनि माग बढेर भाउ महँगिएको बताउनुुभयो । नियमित आउनुपर्ने तरकारी बजारमा समयमै नआउँदा धेरै बिग्रेर फाल्नुुपर्ने अवस्थाले गर्दा पनि महँगो भएको उनको भनाइ छ ।

