२१ भदौ, काठमाडौं ।
स्वास्थ्य मापदण्ड पालना गरेर सिनेमाघर सञ्चालन गर्न अनुमति दिए पनि तत्काल नयाँ चलचित्र प्रदर्शन हुने सम्भावना न्यून देखिएको छ ।
सरकारले गरेको निर्णयप्रति चलचित्रकर्मी तथा व्यवसायी उत्साहित बने पनि हलको व्यवस्थापन र सरसफाइका कारण दशैँ वरिपरि मात्र नयाँ चलचित्र प्रदर्शन हुने सम्भावना छ ।
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले अहिले नै नयाँ चलचित्र प्रदर्शन गर्न जोखिम हुने बताउँदै मौफसलका सिनेमाघर खुलेपछि मात्र चलचित्र प्रदर्शन हुने बताए ।
निषेधाज्ञाका कारण करिब चार महिनासम्म बन्द रहेका सिनेमाघरहरू उपत्यकामा मात्र खुलाउन सकिने निर्णय गरिएको छ । “दर्शकलाई घरभन्दा हलमा सुरक्षित छ भन्ने विश्वास दिन सकिएमा मात्र सिनेमा हेर्न आउनेछन्,” उनले भने “स्वास्थ्यभन्दा ठूलो चलचित्र पक्कै पनि होइन, त्यसैले हामी पनि तयारी गर्दैछौँ । हल खोलेपछि दर्शक आउँछन् भन्न सकिँदैन । अनुकूल भएपछि आफै आउँछन् ।”
चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले दशैँसम्म नेपालभरका सिनेमाघर खुल्ने आशामा रहेको बताए ।