२४ भदौ, काठमाडौं ।
दुुग्ध विकास संस्थान (डीडीसी) ले दूध किसानलाई तिर्न अझै १५ करोड बाँकी छ ।
कोभिड–१९ महामारीका कारण किसानको रकम समयमा भुक्तानी गर्न नसक्दा यस्तो रकम ४५ करोड रुपियाँ थियो । त्यसलाई घटाउँदै डीडीसीले १५ करोडमा झारेको हो ।
आफ्नो आम्दानीले तिर्न नसकेपछि डीडीसीले सरकारबाट सहुलित ऋणमा २० करोड रुपियाँ प्राप्त गरेको थियो । सोही रकमबाट किसानको बक्यौता रकम तिर्न सुरु गरेपछि अहिले किसानलाई असार १५ गतेसम्मको भुक्तानी भइसकेको डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले जानकारी दिए । अरू बाँकी रकम भदौ मसान्तभित्र भुक्तानी गरिसक्ने उनले बताए ।
असोजदेखि किसानको रकम नियमित भुक्तानी हुने दाबी गर्दै उनले साउनदेखि दूध सङ्कलन कम हुने भएकाले भुक्तानी नियमित गर्न समस्या नहुने बताए ।
कोभिड–१९ महामारीका बेला दूध सङ्कलन र बिक्री वितरण समान्य नहुँदा डीडीसीको चालू पुँजीमा समेत समस्या भई किसानलाई भुक्तानी दिन गाह्रो भएको उनले बताए ।
सङ्कलनअनुसार बिक्री नहुँदा धुलो दूध, बटर बनाउँदै भण्डारमा राख्ने काम मात्र भइरहेको थियो । त्यसमा चालू पुँजी फस्दा किसानको रकम भुक्तानीमा समस्या भइरहेको थियो ।
अब विस्तारै समाधान हुँदै गइरहेको बताए । अहिले दूधको खपतमा वृद्धि भएको हुनाले समस्या समाधानतर्फ गइरहेको बताउँदै अब किसानको भुक्तानीमा समस्या नहुने बताए ।

