४ असाेज, काठमाडौं ।
नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसी आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानविरुद्ध खेलको प्लेयर अफ द म्याच चुनिएका छन् ।
करण ओडिआई करिअरमा दोस्रो पटक प्लेयर अफ द म्याच चुनिएका हुन् । नेपाललाई ऐतिहासिक ७ विकेटको जित दिलाउन करणले उत्कृष्ट प्रदर्शन गरेका थिए । अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको ओमानलाई ३७.१ ओभरमा १ सय २१ रनमा अल आउट गर्न करणले घातक बलिङ गरेका थिए ।
करणले ८ ओभरमा १ मेडन सहित २५ रन खर्चेर ४ विकेट लिएका थिए । करणले ओमानका शीर्षक्रमका चार ब्याट्सम्यानलाई आउट गरेपछि नेपालले सामान्य लक्ष्य पाएको थियो । करणले सिरिजमा पहिलो पटक सुरुवाती ओभर बलिङ गर्ने जिम्मेवारी पाएका थिए । यसअघिका खेलमा विक्रम सोबले उक्त जिम्मेवारी सोमपाल कामीसँग निभाएका थिए ।
जितको लागि १ सय २२ रनको सामान्य विजयी लक्ष्य नेपालले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्ल ४६ बलमा ४ चौका र २ छक्का सहित ५२ रनमा अविजित रहे । शरद भेषावकर विजयी रन बटुल्दै एक रनमा अविजित रहे । युवा ब्याट्सम्यान तथा ओपनर आसिफ शेखले ४४ बलमा ७ चौका सहित ४० रनको योगदान दिए । नेपाललाई सहज जित दिलाउन आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि ९५ रनको कीर्तिमानी साझेदारी गरेका थिए । ओडिआई इतिहासमा नेपालबाट यो कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।
बलिङतर्फ करणले गरेको तेस्रो ओभरको चौथो बलमा स्कुपसट खेल्नेक्रममा एज लागेर ओपनर जतिन्दर सिंह फस्ट स्लिपमा आसिफ शेखबाट १३ रनमा क्याच आउट हुन पुगेका थिए । पहिलो खेलमा नेपालविरुद्ध शतक प्रहार गरेका जतिन्दरले दोस्रो खेलमा १३ बलमा १ चौका र १ छक्का प्रहार गरे । जतिन्दर आउट भएपछि ओमानले लगातार विकेट गुमाएको थियो ।
करणले नै गरेको सातौं ओभरको पाँचौ बलमा टप एज लागेर डेब्यू खेल खेलेका सुफ्यान मोहम्मद चार रनमा सुशान भारीबाट क्याच आउट हुन पुगे । त्यस्तै नवौं ओभरको पाँचौं बलमा करणले अयान खानलाई ७ रनमा बोल्ड आउट गर्दै ओमानलाई ३०–३ को कमजोर अवस्थामा पुर्याएका थिए ।
ओमानका कप्तान जिशान मकसुदलाई करणले ३४ औं ओभरको तेस्रो बलमा विनोद भण्डारीबाट ४१ रनमा क्याच आउट गराएपछि सस्तैमा समेटिएको थियो । ओमानका प्रमुख पाँच ब्याट्सम्यान मध्य चार करणले आउट गर्दै नेपालको जित सहज बनाएका थिए । तल्लोक्रममा सन्दीपले चार र शरद भेषावकरले दुई विकेट लिए ।
सन्दीप लामिछानेले ८.१ ओभरमा २ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिएका थिए । नेपालले हालसम्म १६ ओडिआई खेल खेलेको छ । जसमा ९ खेलमा जित र ७ खेलमा हार बेहोर्नु परेको छ । सन्दीप सर्वाधिक धेरै तीन पटक प्लेयर अफ द म्याच चुनिएका छन् । सोमपाल कामी दुई र करण केसी दुई दुई तथा पारस खड्का र कुशल भुर्तेल १-१ पटक प्लेयर अफ द म्याच चुनिएका छन् ।