थोक बजारमा नै सागको मूल्य किलोको २ सय रुपैयाँ, उपभोक्तालाई छाक टार्नै मुस्किल

१० असोज, काठमाडौं ।

Advertisement

काठमाडौको बजारमा हरियो तरकारीको मूल्य लगातार बढेको छ । बजारमा विशेष गरी साग, सिमी, बोडी, काउली, गाजर, करेला महँगो छ ।

काठमाडौको मुख्य थोक बजार कालीमाटीमै आज तने बोडी किलोको १२० देखि १४० रुपैयाँ थोक मूल्य छ । यस्तै, ब्रो काउली र बरेला किलोको १५० देखि २ सय रुपैयाँ, भटमासको कोसा एक सय देखि १२० रुपैयाँ, स्थानीय काउली किलोको ७० देखि ८० रुपैयाँ, गाजर १३० देखि १५०, गान्टे मुला ८० देखि ९० रुपैयाँ, घिउसिमी ८० देखि ९० रुपैयाँ, घिरौँला ७० देखि ८० रुपैयाँ, चम्सुरको साग २२० देखि २५० रुपैयाँ, रायोको साग १८० देखि २ सय रुपैयाँ, टाटेसिमी १४० देखि १६० रुपैयाँ थोक मूल्य छ ।

Advertisement

बजारमा यी तरकारीको भाउ हेरी स्कुस, मुला, बन्दा र गोलभेँडाको भाउ केही सस्तो छ । आज ठूलो गोलभेँडा किलोको ६० देखि ७० रुपैयाँ, टनेलको सानो गोलभेँडा किलोको ३२ देखि ३७ रुपैयाँ, स्थानीय सानो गोलभेँडा किलोको २० देखि ३० रुपैयाँ, रातो मुला किलोको ४० देखि ५०, सेतो मुला २० देखि २५ रुपैयाँ, लौका ४० देखि ५० रुपैयाँ, स्कुस १५ देखि २० रुपैयाँ र हरियो फर्सी किलोको २० देखि ३० रुपैयाँ थोक मूल्य छ ।

तरकारीको यो मूल्य खुद्रामा झन् दोब्बर भन्दा धेरैले बढी हुन्छ । धेरैजसो उपभोक्ताले खुद्रा पसलमा नै तरकारी खरिद गर्ने गरेकाले उनीहरुको भान्सा महँगो हुँदै गएको छ ।

Advertisement

काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बर्खे तरकारीको सिजन सकिएको र हिउँदे तरकारीको उत्पादन सुरु भइनसकेकाले हरियो तरकारीको मूल्य बढेको हो।

समितिका उपनिर्देशक विनय श्रेष्ठले अहिले बजारमा सात सय टन तरकारी भित्रने गरेको बताए । काठमाण्डौ उपत्यकामा काभ्रे, मकवानपुर, धादिङबाट तरकारी भित्रिरहेको छ ।

मागको तुलनामा हरियो तरकारीको आयात र उत्पादन कम हुँदा भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए ।

परबल, भिण्डी, काउली, खुर्सानी जस्ता तरकारीको उत्पादन नेपालमा कम भएको छ भने भारतबाट पनि यी तरकारी अहिले खासै भित्रिएका छैनन् ।

भारतबाट अहिले धेरैजसो आलुप्याज मात्रै भित्रिने गरेको छ । बजारमा हरियो तरकारीसँगै दैनिक उपभोग्य वस्तुको भाउ पनि बढिरहेकाले भान्सा झन् महँगो बन्दै गएको छ।

चाडपर्व नजिकिएसँगै दाल, चामल, तेल, चिनी लगायत खाद्य वस्तुको भाउ अस्वाभाविक रुपमा बढिरहेको छ । यस्तै बजारमा अहिले म्याद गुज्रिएका खाद्य वस्तु पनि बिक्री भइरहेको पाइएको छ ।

बजार अनुगमन गर्ने निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चाडपर्व लक्षित बजार अनुगमन थाले पनि उपभोक्ताले राहत पाउन सकेका छैनन् ।

मूल्य वृद्धिका कारण छाक टार्ने मुस्किल परेको उपभोक्ताको गुनासो छ । तर, विभागले भने अस्वाभाविक मूल्य बढाएकालाई कारबाही गर्ने गरेको दाबी गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top