नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित

१३ असाेज, काठमाडाैँ ।

Advertisement

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् । बुधवार ललितपुरमा भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका रवीराज थापालाई विष्टले हराएका हुन् ।

नेपाली ओलम्पियन खेलाडीहरुको आधिकारीक संस्था ओलम्पियन्स संघको निर्वाचनमा १५ सदस्य नयाँ कार्यसमिति पनि चयन भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आवद्ध ओलम्पियन्स संघमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष भने निर्विरोध चयन भएको हो ।

Advertisement

समितिको महिला उपाध्यक्षमा संगिना वैद्य, महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा निर्विरोध चयन भएका छन् । नेपाल ओलम्पियन्स संघको विधानमा २ उपाध्यक्षमा एक महिला अनिवार्य छ । जसमा संगिना निर्वाचित भएकी छन् भने अर्को एक उपाध्यक्षमा प्रविण तुलाधर निर्वाचित भएका छन् ।

निर्वाचित भएपछि कार्यक्रममा बोल्दै दीपक विष्टले ओलम्पियन र ओलम्पिक मुभमेण्टलाई गर्व हुने खालको काम बताए। उनले नेपालमा ओलम्पिकलाई धेरै हेपाह पाराले हेर्ने गरिएको र पदकधारी खेलाडीलाई मात्रै मान्ने परम्परा आफू निर्वाचित कार्यसमितिले तोड्ने बताए । उनले संघमा आफू राजनीति गर्न नआएको भन्दै यो समितिले काम गरेर देखाउने प्रण गरे ।

Advertisement

नव–निर्वाचित संघका अध्यक्ष विष्टले भने, ‘धेरै नै धन्यवाद दिन चाहन्छु सबैले विश्वास गरेर मलाई यो जिम्मेवारी दिनुभएको छ, अवश्य नै मैले ठूलो इज्जत बनाएर साच्चिकै ओलम्पियन र ओलम्पिक मुभमेण्टलाई गर्व हुने खालको काम गर्नेछु, नेपालमा ओलम्पिक मुभमेण्ट साच्चिकै छैन, ओलम्पिकलाई धेरै हेपाह पाराले हेर्ने गरिएको छ, यो देशमा मेडलिस्ट खेलाडीलाई मात्रै मान्छन्,१५ जनाको हाम्रो टीम कामदार हो, हामी काम गर्नेछौँ ।’

नव–निर्वाचित अध्यक्ष विष्टले यस काममा सबै जना मिलेर अघि बढ्नुपर्ने बताउँदै नेपाल ओलम्पिक कमिटीसँग राम्रो सम्बन्ध बनाउने र हातेमालो गरेर अघि बढ्ने बताए। नव–निर्वाचित १५ सदस्यमा राजकुमारी पाण्डे, विमला रानामगर, कान्छीमाया कोजू, प्रमिला रिजाल, मुकुन्दहरि श्रेष्ठ, विष्णुबहादुर सिंह, टीकाराम श्रेष्ठ, सफलराम श्रेष्ठ र रञ्जन श्रेष्ठ छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top