कोसी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न

२० असोज ७८, बिहीबार

२० असाेज, काठमाडौँ।

कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । पहिलो प्याकेजअन्तर्गत सुनसरीको इनरुवाबाट तेह्रथुमको वसन्तपुर, बानेश्वर हुँदै सङ्खुवासभाको तुम्लिङ्टारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एकतर्फ मात्र तार तान्ने कार्य सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतीय एक्जिम बैंकद्वारा धनकुटाको हिलेमा सोमबार संयुक्त कार्यक्रम आयोजना गरी पहिलो प्याकेजअन्तर्गतको प्रसारण लाइन निर्माण सम्पन्न भएको घोषणा गरियो ।

अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंकले दिएका सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि नौ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ । कोसी करिडोर प्रसारण लाइन आयोजनामार्फत तुम्लिङ्टारदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुङ्गेसाँघु (ताप्लेजुङ) देखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ । साथै एक नम्बर प्रदेशका जिल्लामा विश्वसनीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण सञ्जाल बन्ने छ ।

कार्यक्रममा एक्जिम बैंकका प्रतिनिधि विश्वजित गर्गले प्रसारण लाइन आयोजनाको पहिलो प्याकेज निर्माण सम्पन्न भएको साँचो ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा धनकुटा नगरपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, नेपालस्थित भारतीय दूतावासका उपप्रमुख नामग्या सी खाम्पालगायतको उपस्थिति थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन निर्माणपछि प्रदेश नं १ मा विद्युत् प्रसारण तथा वितरणका लागि मेरुदण्ड तयार भएको बताए । कोसी करिडोर र काबेली करिडोर प्रसारण लाइनलाई लिङ्क गर्न लागिएको जानकारी दिँदै उनले आयोजनाअन्तर्गतका सवस्टेसनको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको विद्युत् आपूर्ति गुणस्तरीय र विश्वसनीय हुने बताए।

ऊर्जा मन्त्रालयका सहसचिव भेटुवालले प्रसारण लाइनको निर्माणबाट अरुण र तमोर जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् ग्राहकसम्म पुर्याउन पूर्वाधार तयार भएको बताए। प्रसारण लाइन निर्माणपछि यस क्षेत्रका खोलानालामा जलविद्युत् आयोजना निर्माणका लागि निजी क्षेत्रको लगानीलाई थप सुनिश्चित बनाएको बताए । नेपाल र भारतबीचको सहकार्यका लागि ऊर्जा प्रमुख क्षेत्र रहेको बताउँदै भारतीय दूतावासकी उपप्रमुख खाम्पाले भारतले जारी गरेको क्रस बोर्डर विद्युत् व्यापार निर्देशिकाबमोजिम नेपालले भारतबाट विद्युत् खरिद गर्न मात्र नभएर बिक्री गर्नसमेत पाउने बताए ।

धनकुटा नगरपालिकामन प्रमुख चिन्तन तामाङले इच्छाशक्ति भएमा ठूला आयोजना पनि समयमै सम्पन्न हुन्छ भन्ने कोसी करिडोरको निर्माणबाट पुष्टि भएको बताए । उनले अब प्राधिकरणलाई जनतालाई विद्युत् जाँदैन भन्ने सुनिश्चित गर्नतर्फ केन्द्रित हुनु सुझाव दिए। प्राधिकरणले कोसी करिडोरमा निजी तथा सरकारी तवरमा निर्माण हुने जलविद्युत् आयोजनाको वर्तमान कार्यप्रगति तथा भावी योजनालाई मध्यनजर गरी आयोजनाबाट उत्पादन हुने विद्युत् प्रसारणका लागि सो लाइनको दोस्रो सर्किटको तार तान्ने कार्य र सम्बन्धित सवस्टेसनमा २२० केभी लाइन बे तथा पावर ट्रान्सफर्मरको क्षमता विस्तार गर्ने योजना बनाएको छ ।

आयोजनाको प्रथम चरणको कार्यका लागि जस्तै दोस्रो चरणको निर्माण कार्यअर्थात् दोस्रो सर्किट तार तान्ने र सम्बन्धित सवस्टेसनको क्षमता विस्तारका लागि आवश्यक अनुमानित लागत चार करोड अमेरिकी डलर नेपाल सरकारमार्फत नेपाल विद्युत् प्राधिकरणलाई लगानी जुटाइदिने सम्बन्धमा भारतीय एक्जिम बैंकलाई पत्राचार गरिसकेको छ ।

विश्वव्यापी फैलिएको कोरोना महामारी र त्यसपछि सिर्जित बन्दाबन्दीले यस आयोजना प्रभावित भएको थियो । यस प्रसारण लाइनमा जडान हुने विभिन्न उपकरण र प्राविधिक कार्य कोरोना महामारीका कारणले पूर्वनिर्धारित समयमा नै आयोजनास्थलसम्म आइनपुग्दा निर्माण प्रभावित भएको हो ।

प्रसारण आयोजना तीन वटा प्याकेजमा विभाजन गरी निर्माण गरिएको छ । पहिलो प्याकेजमा इनरुवा–तुम्लिङटार प्रसारण लाइन, दोस्रो प्याकेजमा तीन वटा सवस्टेसन र तेस्रो प्याकेजमा तेह्रथुमको वसन्तपुरदेखि ताप्लेजुङको ढुङ्गेसाँघुसम्म प्रसारण लाइन तथा सवस्टेसनको निर्माण गर्ने रहेको छ ।

अरुण र तमोर नदी र तिनीहरुका सहायक नदीबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्न निर्माणाधीन कोसी करिडोर नेपालको हालसम्मको सबैभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो । प्रदेश नं १ का भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गरिएको हो । प्याकेज १ को निर्माण भएको छ भने २ र ३ को क्रमशः ८० र ७० प्रतिशत निर्माण सकिएको छ ।

प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा छन् । आयोजनाको दोस्रो प्याकेजअन्तर्गतका सङ्खुभासभाको बानेश्वर तथा तुम्लिङटार र वसन्तपुरमा २२०-१३२-३३ केभीका तीन वटा सवस्टेसन र इनरुवा सवस्टेसनमा ‘बे एक्सटेन्सन’ को काम अन्तिम चरणमा छन् । आयोजनाको सम्पूर्ण कार्य मार्च २०२२ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

इनरुवामा अहिले २२० केभीको सवस्टेसन निर्माणाधीन छ । उक्त सवस्टेसन निर्माण पूरा नहुन्जेलसम्मका लागि इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनलाई अस्थायीरूपमा ३३ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । सङ्खुवासभाको किटिंगीडाँडादेखि सुनसरीको धरानसम्म ६६ किमी प्रसारणलाई २०७८ भदौ २ मा ३३ केभीमा चार्च गरिएको हो । प्याकेजअन्तर्गत सवस्टेसनको निर्माण र नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट निर्माणाधीन २२०-१३२-३३ केभी इनरुवा सवस्टेसन सम्पन्न गरी इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङ्टार प्रसारण लाइनलाई सन् २०२१ डिसेम्बरसम्ममा २२० केभीमा चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

हाल ३३ केभीमा चार्च गरिएको प्रसारण लाइनमार्फत भोजपुर, सङ्खुवासभा र तेह्रथुममा निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गरिएको छ । यसबाट बर्खाको समयमा त्यस क्षेत्रका आयोजनले बेहोर्दै आएको प्रसारण लाइनको समस्या समाधान भएको छ । तिरतिरे–वसन्तपुर–धनकुटा–धरान ३३ केभी प्रसारण लाइनको क्षमताले नपुग्दा भोेजपुर, सङ्खुवासभा र तेह्रथुममा सञ्चालित आयोजना बर्खाको समयमा पूर्ण क्षमतामा चल्न सकिरहेका थिएनन् । आयोजनाको जडित क्षमता करिब ३३ मेगावाट छ । सङ्खुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोसी करिडोर प्रसारण लाइनमा जोडी सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित चतरा–धरान ३३ केभी लाइनमा ल्याइएको छ ।

करिडोरको पहिलो प्याकेजको इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङ्टार २२० केभी प्रसारण लाइन निर्माण गर्न भारतीय कम्पनी कल्पतरु पावर ट्रान्समिसन लि सन् २०१६ फेब्रुअरी २५ मा ठेक्का सम्झौता गरिएको थियो । ठेक्का सम्झौता सन् २०१६ जुन १४ मा कार्यान्वयमा आएको थियो । पहिलो प्याकेजको अनुमानित लागत तीन करोड ७३ लाख डलर छ । दोस्रो प्याकेजअन्तर्गत इनरुवा, वसन्तपुर, बानेश्वर र तुम्लिङ्टारमा २२०-१३२-३३ केभीको सवस्टेसन निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग सन् २०१८ जुलाई ११ मा ठेक्का सम्झौता भएको थियो । सवस्टेसनको निर्माण सन् २०२२ मार्चभित्र सक्ने लक्ष्य राखिएको छ । यो प्याकेजको अनुमानित लागत दुई करोड ५३ लाख डलर छ ।

तेस्रो प्याकेजमा वसन्तपुर–ढुङ्गेसाँघु ३५ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । एक सय ३२ वटा टावर निर्माण गर्नुपर्ने यस खण्डको काम आगामी माघभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिने छ । रासस

भर्खरको समाचार

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

सम्बन्धित समाचार

Scroll to Top