कैलालीमा हुँदैन बजार अनुगमन, बजारमा व्यापारीको मनपरी

२० असोज ७८, बिहीबार

२१ असाेज, कैलाली ।

Advertisement

कैलाली जिल्लामा सरोकारवालाहरुले बजार अनुगमनमा चासो नदिँदा उपभोक्ता मारमा परेका छन् । बजारमा गैरकानूनी रूपमा औषधि, खाद्य तथा पेय पदार्थ जस्ता वस्तु बिक्री हुने गरेको तर बजार अनुगमन निर्देशिकामा नियमित अनुगमन गरिने व्यवस्था उल्लेख गरिए पनि प्रभावकारी भने हुन नसकेकोले आम उपभोक्ताहरु मारमा परेका हुन् ।

यतिबेला अनुगमनको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई भएपनि अनुगमन नभएको राष्ट्रिय उपभोक्ता संरक्षण मञ्च कैलाली संयोजक हरी रेग्मीले बताए । उनले बजारमा म्याद गुज्रिएको सामान उल्लेख्य परिमाणमा भएपनि अनुगमन नहुँदा उपभोक्ता ठगिँदै आइरहेको दाबी गरे ।

Advertisement

प्रशासन भन्छ- माग बढ्दा मूल्यबृद्धि
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दशैँ, तिहार र छठ जस्ता महान चाडहरुमा खपत र माग बढ्ने भएकोले बजारमा विभिन्न सामग्रीहरुको मूल्यवृद्धि हुन सक्ने बताए । उनले यसलाई ध्यानमा राखेर संयुक्त अनुगमन टोली बनाएर बजार अनुगमन गरिरहेको बताए ।

उनले कैलालीमा श्रावणमा १३, भाद्रमा २५ र असोज महिनामा आजसम्म १२ वटा पसलहरुमा अनुगमन गरेको बताए । उनले २ वटा पसलहरुमा भने एउटामा १० हजार रुपैयाँ र अर्कोमा २० हजार रुपैयाँ जरिबाना समेत गरेको बताए । सूचना अधिकारी जोशीले अनुगमनका क्रममा ४ वटा पसलहरुमा १७ हजार भन्दा बढीको म्याद सकिएको खामग्रीहरु पाइएकोले तत्काल फिर्ता गर्न लगाइएको पनि जानकारी दिए ।

Advertisement

उपभोक्ता हित संरक्षण शाखा धनगढी उपमहानगरपालिकाका संयोजक योगेन्द्रबहादुर चन्दले स्थानीय तहहरुले बजार अनुगमन निर्देशिका बनाएर संयुक्त रुपमा अनुगमन गरिरहेको बताए । उनले वस्तु वा सेवा प्रदायक व्यवसायको दर्ता, नवीकरण, आपूर्ति, मूल्य, नापतौल, विज्ञापनलगायत व्यापारिक क्रियाकलापको नियमित तथा आकस्मिक अनुगमन गर्न अनुगमन टोली गठन गरेर अव्यवस्थित पसलहरुलाई व्यवस्थापन गरेको पनि बताए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अव दैनिकरुपमा बजार अनुगमन गरिने बताए । उनले यसभन्दाअघि हप्तामा तीन÷चार पटक मात्र बजार अनुगमन गरेको तर अब चाडपर्वमा हुन सक्ने अनैतिक गतिविधिलाई नियन्त्रण गर्न दैनिक बजार अनुगमन गरिने बताए । उनले भारतबाट नेपाल भित्रिने नाका भएकोे र कोरोनाको जोखिम कायमै रहेको भन्दै व्यवसायी तथा आम नागरिकहरुलाई स्वास्थ्यका मापदण्डको पालना गर्न सुझाव दिए ।

स्थानीय तह, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, घरेलु तथा साना उद्योग विकास समिति, कर कार्यालय, जिल्ला प्रशासन, वाणिज्य संघलगायत पछिल्लो समय अनुगमन कार्यमा मौन रहेको उपभोक्ताहरुको गुनासो छ । धनगढी बजार क्षेत्रमा खाद्यन्नमा अखाद्य वस्तु मिसावट हुने गरेको, दालमा ढुंगा, तिलमा कनिकालाई रंगाएर मिसिएको, मिति नाघेका प्याकेटका खानेकुरा तथा चिसो पेय पदार्थ अत्यधिक पाइने गरे पनि सम्बन्धित पक्षले चासो नदिएको स्थानीयको गुनासो छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top