२२ असाेज, एजेन्सी ।
बेलायतले कोभिड भाइरस नियन्त्रणका लागि यात्रा प्रतिवन्धित मुलुकहरुको सूची (रेड लिस्ट) बाट नेपाललाई हटाएको छ । ब्रिटिस सरकारले बिहीबार एक सूचना जारी गर्दै आउँदो ११ अक्टोबर सोमबार बिहान ४ बजेदेखि परिवर्तित नियम लागू गरिने जनाएको छ ।
सरकारले अब पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हेइटी र द डोमिनिकन रिपब्लिक गरि ७ मुलुक मात्रै ‘रेड लिस्ट’ मा रहने घोषणा गरेको छ । यसअघि नेपाल लगायत ५४ वटा मुलुक बेलायत सरकारको ‘रेड लिस्ट’ मा थिए ।
ब्रिटिस यातायात मन्त्री ग्रान्ट साप्सले नयां नियमहरु ब्रिटेनमा अन्तर्राष्ट्रिय यात्रा खुला गर्ने दिशामा ‘एउटा नयाँ पाइला’ भएको बताएकाे बीबीसीले उल्लेख गरेको छ ।
‘रेड लिस्ट’ मा रहेका देशबाट आउने यात्रुले १० दिन (११ रात) होटल क्वारेन्टाइन बस्दा एक कोठाको प्रति व्यक्ति २२८५ पाउन्ड, ११ वर्ष माथिकाले अतिरिक्त प्रति व्यक्ति १,४३० पाउन्ड र ५ देखि ११ वर्षका बालबालिकाले अतिरिक्त ३२५ पाउन्ड तिर्नुपर्ने हुँदा नेपालसहितका यात्रुलाई निकै सास्ती भइरहेको थियो । नेपालबाट अध्ययनका लागि गएका विद्यार्थीसमेत चर्को मूल्य तिर्न बाध्य थिए ।
‘रेड लिस्ट’ बाट हटेसँगै अब होटल क्वारेन्टाइनको बाध्यकारी नियम हटेको छ । यात्रा गर्नुअघि पीसीआर टेस्टको नेगेटिभ रिपोर्ट भने जरुरी छ ।
दक्षिण एसियामा नेपालमात्र ‘रेड लिस्ट’ मा रहँदा बेलायतस्थित विभिन्न नेपाली संघ संस्थाले सूचीबाट नेपाललाई हटाउन ब्रिटिस सरकारसँग अपिल गरेका थिए ।
दसैं-तिहार नजिकिइरहेका बेला बेलायतवासी नेपालीहरु समेत नेपाल जान बाटो खुलेपछि उत्साहित भएका छन् । सरकारको नयाँ घोषणाले अब बेलायत घुम्न (भिजिट भिसा) आउन पनि खुल्ला भएको छ । अब नोभेम्बर पहिलो साता लन्डनमा हुने पर्यटन क्षेत्रको कुम्भमेला वर्ल्ड ट्राभल मार्ट (डब्लूटीएम) मा नेपाल पनि सहभागी हुन पाउने भएको छ ।
