उद्योगमन्त्री हमालको राजीनामा स्वीकृत

२४ असोज, काठमाडौं ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत गरेका छन् ।

शुक्रबार पद तथा गोपनीयताको सपथ लिनुभएका मन्त्री हमालले आज बिहान पदबाट राजीनामा दिएका थिए ।

Advertisement

प्रधानमन्त्री देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेको र सोही अनुरोध स्वीकार गर्दै हमालले पदबाट राजीनामा गरेको प्रधानमन्त्रीको संसदीय दलका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिए ।

विभिन्न सञ्चारमाध्यममा आएका समाचार र कानुनविद्ले प्रश्न उठाएपछि हमालले पदबाट राजीनामा गरेको स्वकीय सचिव जोशीले बताए ।

Advertisement

आफू लामो समयदेखि नेपाली कांग्रेसका विभिन्न पदमा सक्रिय रही बाँकेको पार्टी सभापतिसमेत भएर काम गरेकाले सोहीअनुसार मूल्याङ्कन गरी प्रधानमन्त्रीले आफूलाई मन्त्री पदमा नियुक्ति गरेको हमालले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

विभिन्न सञ्चारमाध्यममा सम्प्रेषित समाचार तथा कानुनविद्ले आफ्नो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको र यस्ता समाचारले आफ्नो वर्षौँसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायबीच शक्ति पृथकीकरणको सिद्धान्तका लागि लडेको लडाइँको समेत अवमूल्यन भएको वोध भएको पत्रमा उल्लेख छ ।

आफ्नो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेपछि पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशङ्काकै बीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेको भन्दै मन्त्री हमालले पदबाट राजीनामा दिएको जनाएका छन् ।

हमाल लामो समयदेखि कांग्रेसको राजनीतिमा क्रियाशील छन् । उनले विसं २०२७ देखि कांग्रेसका विभिन्न पदमा बसेर काम गरिसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top