३० कात्तिक, एजेन्सी ।
चीनका राष्ट्रपति सी जिनपिङले आगोसँग बारम्बार नजिस्किन अमेरिकालाई चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको पहिलो भिडियो वार्तामा राष्ट्रपति सीले यस्तो चेतावनी दिएको सञ्चार माध्यमहरुले जनाएका छन् ।
सौहार्दपूर्ण वातावरणमा सुरु भएको बाइडेन–सी बैठक ताइवान मुद्दामा प्रवेश गरेपछि तनाबमय बनेको थियो । बाइडेनले ताइवानलाई हस्तक्षेप नगर्न राष्ट्रपति सीलाई भनेका थिए । जवाफमा सी जिनपिङले ‘जसले आगोसँग खेल्छ ऊ जल्छ’ भन्दै चेतावनी दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
त्यस्तै दुई नेताबीच सम्पन्न भएको भर्चुअल बैठकमा शिजियांग र हङ्गकङको विषयमा पनि कुराकानी भएको थियो । बैठकपछि ह्वाइट हाउसले प्रेस वक्तव्य जारी गर्दै अमेरिका एक चीन नीतिमा प्रतिबद्ध भएको जनाएको छ । एक चीन नीति मान्ने देशले ताइवान चीनको हिस्सा भएको मान्यता राख्दछ ।
त्यसोत अघिल्लो महिना मात्र बाइडेनले यदि चीनले ताइवानमाथि हमला गर्छ भने अमेरिकाले ताइवानको बचाउ गर्ने बताएका थिए । उक्त बैठक ताइवान, व्यापार र मानवाधिकारको मुद्दामा जारी तनावबीच भएको हो ।
चिनियाँ विदेशमन्त्रीका प्रवक्ता हुआ चुनयिङले दुई नेताको वार्ता निकै रचनात्मक र लाभकारी रहेको बताएका छन् ।
