काठमाडौं, साउन २५
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नपाएको गुनासो गरेका छन् । संविधान संशोधन लगायत सरकार गठन हुँदा भएको ३ बुँदे सहमतिको कार्यान्वयनबारे जानकारी लिन अध्यक्षमण्डलका सबै सदस्यहरुले प्रधानमन्त्रीलाई सामूहिक भेटेर अल्टिमेटम दिन खोज्दा समय नपाएको अध्यक्षमण्डलका नेताहरुले गुनासो गरेका हुन् ।
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संविधान संशोधन, मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा फिर्ता, रेशम चौधरीलाई सांसद पदको सपथ दिलाउने र मधेसको समग्र विकास निमार्णको खाका माग्न प्रधानमन्त्रीलाई भेट्न खोजेपनि समय नपाएको गुनासो गरे ।
संविधान संशोधनलगायतका विषयमा ३ बुँदे सहमति गरेर राजपाले वर्तमान सरकारलाई सर्मथन गरेको थियो । सहमति कार्यान्वयन नभएको भन्दै गत बुधबार अध्यक्षमण्डलको वैठकले बिहीबार नै प्रधानमन्त्रीलाई भेटेर अल्टिमेटम नै दिने निर्णय गरेको थियो ।
तर, प्रधानमन्त्रीको समय अभावका कारण राजपा नेताहरुसँग छलफल हुन नपाएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले शुक्रबार पनि राजपा नेताहरुसँग भेट्ने कार्यक्रम नरहेको जानकारी दिएको छ ।