१६ मंसिर, विराटनगर।
एनएमबि बैंकले बैंक अफ दि इयर एसिया २०२१ र बैंक अफ दि इयर २०२१ अवार्ड प्राप्त गरेको छ ।
बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले “दि बैंक अफ दि इयर एसिया २०२१” अवार्डको लागि एनएमबि बैंकलाई छनोट गरेको हो । एनएमबि बैंक द बैंक अफ दि इयर एसिया २०२१ अवार्ड पाउने नेपालको पहिलो बैंक बनेको छ ।
चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापान जस्ता एसियाकै कडा प्रतिस्पर्धीहरुलाई पछि पार्दै एनएमबि बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको हो। द बैंक अफ द इयर २०२१ अवार्ड भने एनएमबिको पाँच वर्षमा चौथो अवार्ड हो ।
द बैंक र म्यागजिन, लण्डनबाट पुरस्कारको आधिकारिक घोषणा भएको दिनमै एभरेष्ट होटलमा हिजो आयोजित पत्रकार सम्मेलनमा अवार्डको घोषणा गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले समस्त बैंकिङ्ग क्षेत्रको तर्फबाट यो अवार्ड लिएका हुन्।
सन् २००० मा स्थापित “बैंक अफ द इयर अवार्ड” प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्य–पूर्वी युरोप, एसिया, अमेरिका, मध्य–पूर्व र अफ्रिका गरी ६ वटा महादेश भरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टा–छुट्टै प्रदान गरिन्छ ।
यो पुरस्कारलाई विश्वभरका बैंकहरूको मूल्याङ्कन गर्ने र विश्वकै अग्रणी संस्थाको रुपमा मान्यता प्रदान गर्ने मानकको रूपमा लिइन्छ ।
