प्रधानन्यायाधीश जबराले कायममुकायम नदिने, अस्पतालबाट डिस्चार्ज हुँदै

१६ मंसिर, काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार डिस्चार्ज हुने जानकारी गराएपछि कायममुकायम प्रधानन्यायाधीशको विवाद तत्काललाई टुंगिएको छ ।

Advertisement

बिहीबार पेसी नतोकी सर्वोच्च अदालतका न्यायाधीशहरू आन्तरिक छलफलमा बसेका थिए । बैठकबाटै न्यायाधीश हरिकृष्ण कार्कीले सबै न्यायाधीशको तर्फबाट प्रधानन्यायाधीश जबरालाई टेलिफोन गरेका थिए ।

कुराकानीमा प्रधानन्यायाधीशले शुक्रबार आफू डिस्चार्ज हुने जानकारी गराएका थिए । प्रधानन्यायाधीश जबरा डिस्चार्ज भए बालुवाटारस्थित सरकारी आवासबाटै प्रशासनिक कामकारबाही गर्न सक्नेछन् । यदि शुक्रबार प्रधानन्यायाधीश डिस्चार्ज नभए फेरि बैठक बसेर के गर्ने भन्नेबारे निर्णय गरिने सर्वोच्चका एक न्यायाधीशले जानकारी दिए ।

Advertisement

बुधबार कानुन व्यवसायीले कायममुकायम प्रधानन्यायाधीशबारे प्रश्न उठाएपछि इजलास प्रभावित भएको थियो । बिहीबार पनि न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेपछि पेसी तोक्न ढिलाइ भएको थियो । बिहीबार वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको एकलसहित १० वटा इजलास तोकिएको छ । बिहीबार न्यायाधीशहरूले बन्दीप्रत्यक्षीकरणको मुद्दा मात्रै हेर्नेछन् ।

नेपाल एपीएफ अस्पतालले सोमबार भर्ना भएका प्रधानन्यायाधीश जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएको छ । उनलाई कोभिड निमोनियासमेत देखिएको थियो । त्यसपछि अस्पतालले उनलाई भर्ना गरेर उपचार सुरु गरेको थियो ।

Advertisement

सर्वोच्च अदालत स्थापना भएयता नै प्रधानन्यायाधीशले निरन्तर उपभोग गर्दै आएको ‘पेसी तोक्ने अधिकार’ लाई बदलेर पहिलो पटक बुधबार गोला प्रक्रियाद्वारा इजलास गठन गरिएको थियो ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै उनले तोकेको इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरू ३८ औं दिनपछि बुधबार गोला तानेर इजलास तोकी नियमित सुनुवाइमा फर्किएका थिए ।

अस्पतालमा उपचाररत प्रधानन्यायाधीश जबराले न्याय प्रशासन सञ्चालन गर्न नमिल्ने र सर्वोच्चका वरिष्ठ न्यायाधीशलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पनि नदिएको भन्दै कानुन व्यवसायीले विरोध गरेपछि न्यायाधीशहरू मुद्दा सुन्दासुन्दै इजलासबाट उठेर छलफलमा बसेका थिए ।

संविधानको धारा १२९ ९६० मा ‘प्रधानन्यायाधीशको पद रिक्त रहेमा वा प्रधानन्यायाधीश आफ्नो पदको काम गर्न असमर्थ भएमा वा बिदा बसेमा वा नेपाल बाहिर गएका कारणले प्रधानन्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भई काम गर्ने’ व्यवस्था छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top