१९ मंसिर, एजेन्सी ।
विश्व बजारमा प्रमुख चलनचल्तीका रुपमा रहेको अमेरिकी डलरको भाउ बढेको छ । विश्वबजारमा डलरको माग बढेसंगै फेरि डलरको भाउ बढेको हो । आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको रिफ्रेन्स रेट अनुसार अमेरिकी डलरको भाउ १२० रुपैयाँ ५७ पैसामा उक्लिएको हो ।
यो पछिल्लो ४७ दिनयताकै उच्च तहमा पुगेको हो । ४७ दिनअघि डलर १२० रुपैयाँ ८५ पैसासम्म पुगेको थियो । त्यसपछि डलरको भाउ घट्न थालेको थियो । योबीचमा डलरको भाउ ११८ रुपैयाँ ७३ पैसासम्म झरेको थियो । त्यसपछि डलरको भाउ क्रमस उक्लिन थालेको थियो ।
अघिल्लो शनिवारदेखि १२० रुपैयाँमा उक्लिएको डलर १२० रुपैयाँ ५७ पैसा पुगेको हो । ओमिक्रोन भाइरस फैलिन थालेपछि डलर, सुन, पेट्रोलियमको मूल्य बढ्न थालेको छ । भाइरसको संक्रमण बढेसँगै भारतीय रुपैयाँ कमजोर देखिन थालेको छ । पछिल्लो ४ वर्षमा अमेरिकी डलरको भाउ करिब १९ रुपैयाँ बढेको छ । २०१७ को डिसेम्बरमा डलरको मूल्य १०२ रुपैयाँको हाराहारीमा थियो ।
अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा (भारु) कमजोर हुँदा नेरु पनि कमजोर बनेको छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर रहेकाले पनि भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । डलरको भाउ बढ्दा आयातमा धेरै पैसा खर्चिनु पर्ने हुन्छ भने रेमिटेन्स आयमा भने सुधार देखिन्छ ।
उपभोग गरिने अधिकांश वस्तु डलरमा भुक्तानी गरेर आयात गरिने हुँदा यहाँ महँगो पर्न जान्छ । जसले गर्दा व्यापारघाटा झन बढेर जान्छ। भारुमा सामान आयात गर्दा समेत महँगो पर्ने गर्छ । भारतमा तयार हुने वस्तुको लागि त्यहाँका उद्योगले डलरमा कच्चा पदार्थ आयात गरेका हुन्छन् । अर्कातर्फ आफ्नो देशको मुद्रा कमजोर हुँदा निर्यात बढाउन सजिलो हुन्छ पहिलेको भन्दा सस्तोमा पाएपछि सामान बढी निर्यात हुने सम्भावना रहन्छ । नेपालको निर्यात आधार अत्यन्तै सानो भएको र माग बढे पनि निर्यात गर्न सक्ने गरी यहाँ पर्याप्त सामान नभएको हुनाले निर्यात बढ्ने सम्भावना भने पर्याप्त देखिदैन ।
