१९ मंसिर, काठमाडौँ ।
नेपाल विद्युत् प्राधिकरणले उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्रदेश नं २ मा पर्ने बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्रमा २ हजार मेगावाट विद्युत् खपत हुने गरी पूर्वाधार बनाउने भएको छ ।
बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनी लगायतका क्षेत्रमा हाल सञ्चालनमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगहरूलाई लक्षित गरी प्राधिकरणले व्यापक रुपमा विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो ।
प्राधिकरणले मुख्य रुपमा उद्योगहरूलाई मागे जति भरपर्दो र गुणस्तरीय विद्युत् दिएर खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजना अन्तर्गत पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको छ । प्राधिकरणले तराई क्षेत्रमा विद्युत् लाइन विस्तारका लागि हुलाकी राजमार्ग हुँदै ४ सय केभी प्रसारण लाइन निर्माणको अवधारण अगाडि बढाएको छ ।
सिमरा र वीरगन्ज क्षेत्रका उद्योगहरूको विद्युत् आपूर्तिलाई विश्वसनीय बनाउन हेटौँडा–परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने काम भइरहेको छ । काम सम्पन्न भएपछि प्रसारण लाइनको क्षमता झन्डै दोब्बर हुने भएकोले उद्योगहरूलाई थप विद्युत् आपूर्ति दिन सकिने छ ।
नयाँ सब स्टेसन निर्माण योजना
निर्माणाधीन हेटौडा–ढल्केबर ४०० केभी प्रसारण लाइनबाट बाराको पिलुवा क्षेत्रमा नयाँ सब स्टेसन निर्माण गर्ने योजना छ । पर्साको पोखरियामा सब स्टेसन बनाउन लागिएको छ ।
प्राधिकरणले विद्युत् खपत बढाउने अल्पकालीन योजना अन्तर्गत सिमरा, परवानीपुर क्षेत्रमा सञ्चालित उद्योगहरूलाई तत्काल दुई सय मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ । त्यस क्षेत्रमा सञ्चालित स्टिल उद्योगहरूले क्षमता विस्तारका लागि थप विद्युतको माग गर्दै आएका छन् ।
कार्यकारी निर्देशक कुलमान घिसिङको भ्रमण
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूको अनुगमन भ्रमण गरेका छन् ।
त्यस क्रममा उद्योगी व्यवसायीहरूसँग अन्तरक्रिया गरी विद्युत् मागको हालको अवस्था र भविष्यको आवश्यकताका विषयमा जानकारी लिएका छन्।
कार्यकारी निर्देशक घिसिङले वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र जीतपुर नगर उद्योग वाणिज्य संघका पदाधिकारीसँग छुट्टाछुट्टै अन्तरक्रिया गरेका थिए ।
सञ्चालनमा रहेका सब स्टेसन र उद्योगहरूको भ्रमण गरेपछि कार्यकारी निर्देशक घिसिङले उद्योगहरूलाई अहिलेकै पूर्वाधारबाट २ सय मेगावाटसम्म थप विद्युत् दिन सकिने देखिएको बताए।
बारा–पर्सा औद्योगिक करिडोरलाई लक्षित गरी पाँच वर्षमा दुई हजार मेगावाटसम्म विद्युत् खपत हुने गरी पूर्वाधार संरचनाको विस्तार गर्न लागिएको जानकारी दिँदै उनले विद्युतको माग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।
दुई हजार मेगावाटसम्म विद्युत् खपत हुने गरी पूर्वाधार
यस वर्षको वर्षामा मुलुकभित्र उत्पादित विद्युत् खपत गर्न नसकी झन्डै आठ सय मेगावाट खेर गयो, यसको मूल्य करिब ५ अर्ब रुपैयाँ हो । यस्तो अवस्था आउनु नेपालसँग विद्युत् छ भन्ने अवसर पनि हो । अब वार्षिक रुपमा करिब एक हजार मेगावाट प्रणालीमा थपिँदै छ ।
विद्युत् खपत बढाउन तत्काल गर्न सकिने काम, त्यसपछि १ वर्ष, २ वर्ष, ५ वर्ष र १० वर्षभित्रमा आउने मागलाई पूरा गर्ने गरी पूर्वाधार संरचना बनाउन लागेको कार्यकारी निर्देशक घिसिङले बताएका छन् ।
उद्योगहरूलाई भरपर्दो र गुणस्तरीय विद्युत् दिन पूर्वाधार संरचनाको निर्माण तथा जनचेतनामा अधिकतम प्रयास गरिएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले अहिले चालिएका कदमको नतिजा अब देखिन थाल्ने बताए ।
कार्यक्रममा उद्योगी व्यवसायीहरूले विद्युत् महसुल महँगो भएकोले सस्तो बनाउन, कम भोल्टेज तथा ट्रिपिङ लगायतको समस्या समाधान गरी विद्युत् आपूर्ति सुधार गर्न, प्रसारण तथा वितरण प्रणालीको विस्तारमा लगानी बढाउन माग गरेका थिए।
तत्काल विद्युत् दिने उद्योगहरू
बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूलाई तत्काल दुई सय मेगावाटसम्म थप विद्युत् दिन सक्ने देखिएको छ । अशोक स्टिललाई थप २०.५ मेगावाटको लोड स्वीकृत भएको छ । उद्योगले हाल १६ एमभीए क्षमताको ट्रान्सफर्मर राखेकोले सोही क्षमता अनुसार विद्युत् दिन सकिने छ । ट्रान्सफर्मर थप गरेपछि उद्योगले मागे जति विद्युत् दिन सकिने छ ।
जगदम्बा स्टिलले ३० मेगावाट थप माग गरेको छ । उद्योगलाई दुई महिनाभित्रमा विद्युत् आपूर्ति दिन सकिने छ । जगदम्बा इन्टरप्राइजेजको ३० मेगावाटका लागि कनेक्सन सम्झौता गर्न लागिएको छ । सम्झौता भएपछि उद्योगलाई विद्युत् उपलब्ध गराइने छ ।
हिमाल आइरनलाई १३२ केभी लाइनबाट विद्युत् आपूर्ति लिने गरी ३० मेगावाट लोड स्वीकृत भइसकेको छ । उद्योगले आफ्नोतर्फ लाइन बनाएपछि परवानीपुर सब स्टेसनबाट तत्काल विद्युत् दिन सकिने छ ।
नारायणी इस्पातलाई २०।५ मेगावाट विद्युत् आपूर्तिका लागि ग्रिड प्रभाव अध्ययन (जिआइएस) भइरहेको छ । बाराको सियरामा निर्माण हुन लागेको विशेष आर्थिक क्षेत्र ९सेज०लाई तत्काल विद्युत् दिन सकिने छ । सेजमा आगामी दिनमा खुल्ने उद्योगहरूलाई लक्षित गरी लाइन विस्तार तथा सब स्टेसन निर्माण गर्न लागिएको छ ।
