२१ मंसिर, काठमाडाैँ ।
एसियाका शक्ति राष्ट्र तथा विश्वमै उदयमान राष्ट्र चीन र भारतबीच आपसी भित्रि सम्बन्ध लामो समयदेखि तिक्कताकै लहरमा अघि बढिरहेको छ । दुवै देश एकअर्कालाई पछि पार्ने सुरक्षा रणनीतिक योजनमा हतियारमा होड गरिरहेका छन् । आणविक शक्ति सम्पन्न दुवै राष्ट्रले एकअर्काका भुभागमा सजिलै मार हान्न सक्ने हतियारको विकास गरिसकेका छन् ।
शक्ति बढोत्तरीको यो होडमा भारतले भने चीनसँग समेत सुमधुर सम्बन्ध रहेको दुवैको असल छिमेकी रुसको सहायतामा भारतमै हतियारको निमार्ण गर्ने भएको छ । आकस्मिक तर धेरै महत्वपूर्ण मानिएको ६ घण्टे भारत भ्रमण सकेर सोमबार राति रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रुस फर्किसकेका छन् ।पुटिनको यो भ्रमणलाई भारतले अत्यन्त सफल र आफू अनुकुलको भनेर परिभाषित गरेको छ । भारतले पुटिनको भ्रमणबाट दुई देशबीचको सम्बन्ध मजबुत भएको दाबी गरेको छ । पुटिनको भारत भ्रमण छोटो समयको भए पनि महत्वपूर्ण रहेको दाबी गरिएको छ । ६ घण्टा भारतमा रहेका पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गरेका थिए ।
यो भ्रमणमा भएको महत्वपूर्ण उपलब्धि चाँही एके–२०३ एसल्ट राइफलसम्बन्धी भएको जनाइएको छ । रुसको सहयोगमा यो राइफल अब भारतमै निर्माण हुनेछ । यसबाहेक छोटा हतियारको निर्माणमा सहयोग बारेको सम्झौतामा संशोधनसम्बन्धी प्रोटोकललाई लिएर पनि एक सम्झौता भएको छ । सम्झौतापछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले रक्षासम्बन्ध द्विपक्षीय सम्बन्धको सबैभन्दा बलियो स्तम्भ भएको बताएका छन् । रुसी राइफल एके–२०३ को खरिदलाई लिएर भारत र रुसबीच २०१९ मा सहमति भएको थियो तर यसले अन्तिम रुप पाउन रुसी राष्ट्रपति पुटिनको भारत भ्रमणसम्म समय लाग्यो । एके–२०३ राइफल नेपालको सीमावर्ती राज्य उत्तर प्रदेशको अमेठी जिल्लाको कोरवा कस्बेमा इंडो रसियन प्राइभेट लिमिटेड (आइआरपीएल) को कारखानामा हुनेछ । आइरारपीएलमा भारतीय कम्पनीको ५०.५ प्रतिशत हिस्सा हुनेछ । निर्माता कलाशनिकोवको ४२ प्रतिशत सेयर हुनेछ जबकी रुसी रक्षा निर्यात एजेन्सी रोसोबोरोन एक्सपोर्टको बाँकी ७.५ प्रतिशत हिस्सामाथि अधिकार हुनेछ ।
भारत सरकारले देशभित्रै रक्षा सामग्री निर्माणको लागि भएको यस सम्झौतालाई उत्साहवर्धक निर्णय भनेको छ । पुटिनको छोटो भारत भ्रमणबारे जानकारी दिंदै भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगलाले ‘राष्ट्रपति पुटिनको भ्रमण छोटो थियो तर धेरै महत्वपूर्ण र सम्बन्धलाई थप प्रगाढ बनाउने खालको भएको बताएका छन् । उनले यस क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि भएको तथा पुटिन र मोदीबीच द्विपक्षीय व्यापार, लगानी जस्ता विषयले प्राथमिकता पाएको बताएका छन् । भेटवार्तामा मोदीले कोभिड महामारीको बेला सहयोग गरेको भन्दै पुटिनप्रति आभार प्रकट गरेका थिए भने रुसको तेल, ग्यास लगायतका पेट्रोकेमिकल्समा लगानीगर्ने रुचि देखाएको बताइएको छ ।
