२३ मंसिर, काठमाडौँ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रले आज सङ्गठन स्थापना अर्थात् ३७औँ बडापत्र दिवस मनाएका छन् ।
यस अवसरमा सार्कको वर्तमान अध्यक्ष राष्ट्र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार एक शुभकामना सन्देश जारी गर्दै सार्कका लक्ष्य र उद्देश्य प्राप्तिका निम्ति रचनात्मक भूमिका निर्वाह गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।
बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, विदेशमन्त्री ए के अब्दुल मोमेन, भूटानका प्रधानमन्त्री लोते छिरिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोल्ही, विदेशमन्त्री अब्दुल्लाह सहिद, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, श्रीलङ्काका राष्ट्रपति गोतवाय राजपाक्ष, प्रधानमन्त्री महिन्दा राजपाक्ष, विदेशमन्त्री जि. एल पेरिस र सार्कका महासचिव एसाला रुवान विराकुनले पनि बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरी सार्क राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख एवं जनतामा हार्दिक बधाई ज्ञापन गरेका छन् ।
सङ्गठनका कान्छो सदस्य देश अफगानिस्तानबाट भने शुभकामना सन्देश जारी नभएको सार्क सचिवालयले जनाएको छ । सन् १९८५ मा बङ्गलादेशको ढाकामा भएको पहिलो सार्क शिखर सम्मेलनले बुधबारकै दिन अर्थात् डिसेम्बर ८ तारिखका दिन सार्कको बडापत्र पारित गरेको थियो । त्यसयता हरेक वर्ष दक्षिण एसियामा सार्क बडापत्र दिवस मनाइने गरेको छ ।
सार्क बडापत्रमा उल्लेख भएबमोजिम सार्कको मुख्य उद्देश्य दक्षिण एशियाका जनताको आर्थिक विकास, कल्याण, द्रुत सामाजिक विकासका माध्यमबाट उनीहरूको जीवनको गुणस्तर सुधार गर्नु हो । साथै यस क्षेत्रमा शान्ति, स्थायित्व, सौहार्दता र प्रगति प्रवद्र्धन गर्नु हो ।
