१ पौष, काठमाडौँ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतबीच सम्बन्ध बिगार्न नचाहेको बताएका छन् ।
भारतको उत्तराखण्ड राज्यमा मङ्गलवार भएको एक कार्यक्रममा उनले केही तत्त्वहरूले दुई देश बीचको सम्बन्ध बिगार्न चाहेको आरोप लगाए ।
उनले तेस्रो पक्ष को हो भन्नेबारे केही खुलाएनन् । उनले नेपालसँग भारतको रोटी–बेटी तथा सांस्कृतिक सम्बन्ध रहेको दोहोर्याए । साथै उनले भारतले नेपालसँगको सम्बन्ध कहिल्यै पनि बिगार्न नचाहेको बताए ।
उनले भने, ‘जेसुकै भए पनि हामीलाई शिर झुकाउनु किन नपरोस् तर नेपालसँगको सम्बन्ध टुट्न दिँदैनौँ ।’
सिंहले सन् २०२० को मे महिनामा नेपाल, भारत र चीन बीचको त्रिदेशीय बिन्दु लिपुलेक हुँदै तिब्बत जोड्ने मानसरोवर सडकको उद्घाटन गरेका थिए ।
नेपालले आफ्नो दाबी गर्दै आएको लिपुलेक र लिम्पियाधुरा क्षेत्रबाट सडक निर्माण गरिएकाले भारतसमक्ष त्यसको कुटनीतिक रूपमै विरोध जनाएको थियो ।
