६ पुस, काठमाडौं ।
राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य बढाउने तयारी गरेको छ। पर्याप्त दूध पाउने बेला पनि अहिले डेरीहरूको संकलन परिमाण घटेको छ।
सरकारी र निजी क्षेत्रका डेरीले कच्चा दूधले नपुगेर पाउडर र बटर प्रयोग बढाएका छन्। यहीबेला बोर्डले दूधको मूल्य बढाउन लागेको हो । यतिबेला बोर्डले देशभरबाट लगतका तथ्यांकहरु भेला पारेर समीक्षा सुरु गरेको छ। बोर्डले बिगतमा दुई वर्षको अन्तरालमा मूल्य बढाउने गरेको थियो।
बोर्डले पहिलेको भन्दा फरक तरिकाले वैज्ञानिक आधारमा मूल्य बढाउने तयारी गरिरहेको बोर्डका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद यादवको भनाइ छ। पुसको तेस्रो सातासम्म हामी एकीकृत रिपोर्ट बनाउँछौं। यसका लागि गृहकार्य भइरहेको छ,ु् उनले भने, हाम्रा कर्मचारीहरु विभिन्न जिल्लाहरुमा रिपोर्टका लागि गइसकेका छन्।
मुलुकमा सरकारी र निजी डेरीहरूले सामान्य अवस्थामा दैनिक ३२ लाख लिटर दूध संकलन गरिरहेका थिए। यो गत वर्षकै तथ्यांक हो। यो वर्ष परिमाण बढ्न पर्नेमा त्यसो हुन नसकेको बोर्डले जनाएको छ।
उक्त रिपोर्ट तयार भएपछि केही समयमा नै दूधको मूल्य बढ्ने कार्यकारी निर्देशक यादवले बताए। बजारको अवस्था हेरेर मात्र मूल्य बढाउन मिल्दैन। त्यसैले वैज्ञानिक आधारमा मूल्य निर्धारण गर्न अहिले विशेष अध्ययन भइरहेको छ, उनले भने, मूल्य बढाउदा किसानलाई कस्तो असर गर्छ, उपभोक्तालाइ कति असर पर्छ र डेरी उद्योगलाई के फाइदा हुन्छ भन्ने हिसाब हेरिरहेका छौं।
दूधको मूल्य केही महिना अघिदेखि नै बढाउनुपर्नेमा पशुपालकहरुबाट माग आएको थियो। कोरोना महामारीका बेला दूध बिक्री घट्दा पशुपालकहरु पनि घटेका थिए, जसको असर अहिलेको संकलन परिमाणमा परेको छ। यतिबेला दूध र दुग्धजन्य पदार्थको बजार माग जुन अनुपातमा बढेको छ, उक्त अनुपातमा उत्पादन बढ्न सकेको छैन।
