७ पुस, एजेन्सी ।
इजरायल कोभिड–१९ विरुद्धको खोपको चौथो डोज दिने पहिलो मुलक बन्ने भएको छ।
इजरायलका महामारी विशेषज्ञले ६० वर्षभन्दा माथिका मानिसहरु र स्वास्थ्यकर्मीलाई कोरोना खोपको चौथो बुस्टर डोज दिन सिफरिस गरेका हुन्। विशेषज्ञको सिफारिसको स्वागत गर्दै इजरायलका प्रधानमन्त्री नेफ्टाली बेनेटले चौथो डोज दिने तयारीको लागि निर्देशन दिएका छन्।
मंगलबार इजरायलमा ओमिक्रोन संक्रमणको कारण पहिलो मृत्यु पुष्टि भएसँगै इजरायलले यस्तो योजना ल्याएको हो। इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म मुलुकमा ३४० ओमिक्रोन भेरियन्टसहितका संक्रमित फेला परेका छन्।
प्रधानमन्त्री बेनेटको कार्यालयले तेस्रो डोजको कम्तीमा ४ महिनापछि मात्र चौथो डोज खोप दिइने बताएको छ। बेनेटले चौथो डोज खोपले विश्वलाई नै समस्यामा पारेको ओमिक्रोन भेरियन्टको लहरलाई रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
इजरायलले निकै तीव्र गतिमा आफ्नो कोरोना खोप कार्यक्रम सञ्चालन गरेको थियो। यद्यपि इजरायलका ६३ प्रतिशत मानिसले मात्र कोरोना खोपको पूरा डोज लिएका छन्।
