७ पुस, बीबीसी ।
अमेरिकी राष्ट्रपति जो बाइडनले ओमिक्रोन भेरिअन्टको फैलावटसँग जुझ्नका लागि ५० करोड र्यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराउन लागिएको जनाएका छन्।
मङ्गलवार गरिएको सम्बोधनका क्रममा उनले उनले परीक्षण तीव्र बनाइने अनि अस्पतालहरूमा सेनाले सहयोग गर्ने बताए। लकडाउनबारे भने अहिले नै नसोचिएको उनले बताएका छन्। यो सन् २०२०को मार्च महिना होइन, हामी तयार छौँ। हामीलाई बढी थाहा छ, उनले भने ।
हाल अमेरिकामा ओमिक्रोन भेरिअन्टको दबदबा छ। पुष्टि भएका नयाँ सङ्क्रमितमध्ये झन्डै दुई तिहाइमा यो भेरिअन्ट पाइएको छ। सुरुमा दक्षिण अफ्रिकामा पहिचान भएको ओमिक्रोन भेरिअन्ट हाल विश्वव्यापी रूपमा फैलिएको छ।
अमेरिकामा ओमिक्रोनका कारण हालसम्म एक जनाको मृत्यु भएको बताइएको छ। ७३ प्रतिशत वयस्क अमेरिकीहरूले खोपको पूर्ण मात्रा प्राप्त गरिसकेको भए तापनि खोप नलगाएकाहरूबारे प्रशासन चिन्तित छ। मङ्गलवार बाइडनले पुनः आफूलाई जोगाउन र खोप लगाउन आग्रह गरे।
ओमिक्रोन भेरिअन्टले न्युयोर्क र वासिङ्टनसहित कैयौँ अमेरिकी सहरहरूमा चिन्ता बढाएको छ जहाँ परिवार सदस्यहरूसँग भेट्नुअघि सर्वसाधारणहरू परीक्षण गराउनका लागि लामबद्ध भएको देखिएको छ। अमेरिकामा खोप लगाउनका लागि १० हजार नयाँ केन्द्रहरू पनि स्थापना गर्न लागिएको छ जहाँ सैन्य चिकित्सकहरू खटाइने छ।
ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले यो जीवन र मृत्युबीचको अन्तर हुन सक्ने भन्दै अमेरिकीहरूलाई खोप लगाउन आग्रह गरेका छन्।
कहिलेबाट परीक्षण ?
मलाई फेरि यो कुरा दोहोर्याउन दिनूस्। कृपया खोप लगाउनुस्। यो हामीले गर्न सक्ने एक मात्रै जिम्मेवारीपूर्ण कार्य हो, बाइडनले भने। जसले खोप लगाएका छैनन् उनीहरूका कारण अस्पतालहरूमा फेरि चाप बढ्दैछ। तर परीक्षणको सुविधा ज्यानुअरीअघि सुरु हुने छैन।
जसकारण केही आलोचकहरूले उक्त कदम चाल्न ढिला भइसकेको हुनसक्ने टिप्पणी गरेका छन्। उनीहरूले जाडोयाममा कोभिड सङ्क्रमणको वृद्धिसँग जुझ्नका लागि तयारी गर्ने विषयमा बाइडनको आलोचना गरेका छन्।
