८ पुस, एजेन्सी ।
कोरोना संक्रमितको संख्या बढेपछि चीनको शहर शियानमा लकडाउन लागू गरिएको छ ।
एक करोड ३० लाख जनसंख्या रहेको शियानमा मानिसहरूलाई घरभित्रै रहन आदेश जारी भएको हो । शानशी प्रान्तको शियानमा डिसेम्बर ९ पछि मात्रै १४३ मानिसमा कोरोनाको संक्रमण पाइएपछि लकडाउन लागू भएको हो । लकडाउनमा हरेक दुई दिनमा एकपटक मात्रै अत्यावश्यक सामान किन्न बजारमा निस्कने अनुमति पाइनेछ ।
त्यसका लागि प्रशासनसँग अनुमति लिनुपर्नेछ । यो प्रतिबन्ध कहिलेसम्म जारी रहनेछ भन्ने कुराको कुनै जानकारी दिइएको छैन । चीनले कोरोना संक्रमण रोक्न ठूलो मात्रामा परीक्षण गर्ने र संक्रमित भेटिए लकडाउन गर्ने रणनीति अपनाएको छ ।
शानशी प्रान्तमा लाखौँ मानिसहरूमा कोरोनाको परीक्षण गरिएको छ । लामो दूरीका बस चल्ने बसपार्कहरू बन्द गरिएको छ भने सडकमा परीक्षणको व्यवस्था मिलाइएको छ । शियानस्थित विमानस्थल पनि बन्द गरिएको छ ।
अत्यावश्यक सामान बाहेकको कारोबार बन्द गरिएको छ भने सरकारी कर्मचारीहरूलाई घरबाटै काम गर्ने भनिएको छ । चिनियाँ अधिकारीहरूले अहिले शियानमा डेल्टा भेरियन्ट देखिएको बताए पनि ओमिक्रोनबारे केही खुलाएका छैनन् ।
