१० पुस, एजेन्सी ।
पाकिस्तानको खैबर पख्तुनख्वाको सम्पन्न पहिलो चरणको स्थानीय चुनावमा हार बेहोरेपछि प्रधानमन्त्री इमरान खानले पाकिस्तान तहरिक–ए–इन्साफ(पीटीआई) का सबै संगठन भंग गर्ने निर्णय गरेका छन् ।
सूचनामन्त्री समेत रहेका पार्टीका नेता फवाद चौधरीले शुक्रबार इस्लामाबादमा यसको जानकारी दिएका हुन् । प्रधानमन्त्री खान र पार्टीका वरिष्ठ नेताबीचको बैठकपछि चौधरीले मिडियामा उक्त निर्णयबारे जानकारी गराएका हुन् । प्रधानमन्त्री खानले खैबर पख्तुनख्वामा पार्टीको निराशाजनक प्रदर्शनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
गाउँ सभाको चुनावको परिणाम आएपछि पनि पीटीआई ठूलो पार्टी भएको पनि उनले बताएका छन् । चौधरीले पत्रकारहरूसँगको कुराकानीमा भने, पीटीआई वंशवादी राजनीतिमा विश्वास गर्दैन । प्रधानमन्त्री इमरान खान आफ्नो मिसनमा व्यक्तिगत सम्बन्धले असर पुर्याउने काम गर्नुहुन्न। योग्यताका आधारमा टिक बाँड्नुपर्नेमा पनि उनको जोड छ ।
यदि परिवारकै सदस्यलाई टिकट बाँड्ने हो भने पीएमएल–एन, पीपीपी र पीटीआईमा कुनै फरक नहुने उनको भनाइ थियो । पटक–पटक गुनासा आइरहँदा पनि केही क्षेत्रमा परिवारकै सदस्यलाई टिकट बाँडिएको मन्त्री चौधरीले स्वीकार गरे ।
शीर्ष नेताहरूको बैठकमा पार्टीको संगठनात्मक संरचनाबारे पनि बहस भएको चौधरीले बताए । केन्द्रदेखि स्थानीय तहसम्मका सबै संरचना भंग गरिएको र यसलाई पुनःसंरचना गरिने उनको भनाइ छ । डिसेम्बर १९ मा खैबर पख्तुनख्वाका १७ जिल्लामा भएको स्थानीय चुनावमा पीटीआईको प्रदर्शन निराशाजनक देखिन्छ ।
६३ मध्ये ४३ तेहसिलको परिणाम आउँदा जमात उलेमा–ए–इस्लामले सर्वाधिक १७ सिट जितेको छ । सत्तारूढ पीटीआईले भने १२ सिट जितेको छ । त्यस्तै ७ सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
