४ माघ, पोखरा । मोफसलकै चर्चित र बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा रारा गोल्डकपको २०औं संस्करणको उद्घाटन खेलमा आयोजक सहारा र विभागीय नेपाल एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
आयोजक सहारा क्लबले पोखरामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिता ६ देखि १५ माघसम्म पोखरा रंगशालामा हुनेछ ।
दोस्रो दिन हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो दिन भुटानिज युथ स्पोर्ट्स क्लब युके र सहारा र एपिएफबीचको खेल हुनेछ । चौथो दिन मनाङ र हिमालयन शेर्पा पुलिसबीचको विजेताको खेल हुनेछ । पाँचौ दिन संकटा र मछिन्द्र, छैटौ दिन थ्री स्टार र आर्मीबीच क्वाटरफाइनल खेल हुनेछ । सेमिफाइनल १२ र १३ माघमा हुनेछ । फाइनल १५ माघमा हुनेछ ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेका छ । संकटा, मछिन्द्र, मनाङ, थ्री स्टार, आर्मी, पुलिस, हिमालयन शेर्पा, एपिएफ, भुटानिज युथ स्पोर्ट्स क्लब युके र आयोजक सहारा गरी १० टोलीको सहभागिता रहेको छ । गतवर्ष संकटा क्लब च्याम्पियन बन्दा अफ्रिकन रुट एसोसिएसन क्यामरुन उपविजेता बनेको थियो ।
प्रतियोगिताको च्याम्पियन हुने टोलीले १० लाख १ हजारसहित शिल्ड प्राप्त गर्नेछन् । दोस्रो हुनेले ५ लाख १ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुमानित बजेट १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ प्रक्षेपण गरिएको छ । क्याराभान गोल्ड कपसहित २१ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा बचत हुन आएको रकम क्लबद्वारा संचालित सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ ।
प्रतियोगिता अवलोकन गर्न आउने सम्पूर्ण महानुभावहरुलाई खोप कार्ड अनिवार्य गरिएको छ ।