१६ माघ, एजेन्सी ।
पाकिस्तानको प्रहरीले पञ्जाब प्रान्तको लाहोर जिल्लामा एक युवाले आफ्नी आमा र तीन भाइबहिनीको गोली हानी हत्या गरेपछि पब्जीलगायत खतरनाक भिडियो गेममा प्रतिबन्ध लगाउन प्रान्तीय र संघीय सरकारलाई सिफारिस पठाउने भएको छ ।
पञ्जाब प्रहरीका प्रवक्ताका अनुसार युवा पुस्तालाई उनीहरूको हानिकारक प्रभावबाट जोगाउन गोली हानाहान र हिंसाको बढ्दो प्रवृत्ति सिकाउने खेलहरूमाथि प्रतिबन्ध लगाउन सिफारिस गरिने भएको हो । प्रहरीले देशमा भएको एक दुखद घटनालाई ध्यानमा राखेर उक्त निर्णय लिएको बताएको छ ।
हालै भएको एक घटनामा यूवाले आफ्नी आमा र तीन भाइबहिनीको हत्या गरेको प्रहरीले जनाएको छ । ‘अली जेनले सन् २०२२ को जनवरी १९ मा आमा, दुई बहिनी र एक भाइको गोली हानी हत्या गरी पेस्तोल लुकाएका प्रारम्भिक छानबिनले देखाएको छ,’ प्रहरी प्रवक्ताले भनेका छन् ।
पब्जी खेलमा बारम्बार पराजित भएपछि तनावमा परेका उनले खेलमा जस्तै सबै जना फेरि बाँच्न सक्ने सोचेर गोली प्रहार गरेको बताएका प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
