२५ फागुन, एजेन्सी । अमेरिकाले रुसबाट तेल, ग्यासलगायत उर्जाको आयातमा प्रतिबन्ध लगाएको छ ।
ह्वाइट हाउसमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी तेल/ग्यासलगायत ऊर्जाका स्रोतको सबै आयातमा प्रतिबन्ध लगाएको बताए ।
बाइडेनका अनुसार अमेरिकाले एकतर्फी रूपमा यो कदम चाल्नेछ । अब रूसी तेल अमेरिकी बन्दरगाहमार्फत कारोबार हुने छैन ।
युक्रेनमा आक्रमणपछि अमेरिकाले रुसमाथि लगाएको यो पछिल्लो प्रतिबन्ध हो ।
पश्चिमा देशले तेल निर्यातमा प्रतिबन्ध लगाएमा युरोपमा ग्यास आपूर्ति बन्द गर्ने रुसले यसअघि नै चेतावनी दिएको छ ।
ग्यास आपूर्तिका लागि जर्मनीसँगको मुख्य ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी दिएको मस्कोलाई उद्धृत गर्दै समाचार संस्था तासले जनाएको छ ।
रुसका उपप्रधानमन्त्री अलेक्सान्डर नोभाकले यो कदमबाट विश्वभरिको आपूर्तिमा ‘विनाशकारी परिणाम’ आउने र तेलको मूल्य दोब्बरले बढेर तीन सय डलरसम्म पुग्न सक्ने चेतावनी दिएका छन् ।
