६ चैत्र, एजेन्सी ।
रुसी सैनिकले घेराबन्दीमा रहेको मारिपोल शहरको एक विद्यालयमा आक्रमण गरेको युक्रेनी अधिकारीले बताएका छन् ।
४०० जना सर्वसाधारणले आश्रय लिएको विद्यालयमाथि रुसी सैनिकले शनिबार गोलाबारी गरेको मारिपोल नगरपरिषदले बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मारिपोल नगरपरिषदले टेलिग्राममा दिएको पछिल्लो जानकारीमा रुसी आक्रमणका कारण विद्यालय भवन ध्वस्त भएको उल्लेख छ ।
त्यहाँ शरण लिएका स्थानीय बासिन्दा भग्नावशेषमा पुरिएको नगरपरिषदका अधिकारीले बताएका छन् । अहिलेसम्म हताहतीबारे थप विवरण आएको छैन । विगत लामो समयदेखि रुसी सैनिकको घेराबन्दीमा रहेको मारिपोलमा सञ्चार सम्पर्क निकै कठिन बनेको छ । त्यहाँ खाद्यान्न, पानी, औषधिसहितका अत्यावश्यक सामग्रीको गम्भीर अभाव भएको छ ।
यस्तै मारिपोलका बासिन्दाहरुलाई उनीहरुको इच्छा विपरित रुसी लगिएको दाबी नगरपरिषदले जनाएको छ । नगरपरिषदले भनेको छ, ‘पछिल्ला हप्तामा मारिपोलका बासिन्दाहरुलाई उनीहरुको इच्छा विपरित रुस डिपोर्ट गरिएको छ । अधिकांश महिला तथा बालबालिकालाई यसरी रुस लगिएको छ ।’
यसैबीच राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मारिपोलमा रुसले निरन्तर गरिरहेको गोलाबारीको गम्भीर निन्दा गरेका छन् । रणनीतिक महत्वको तटीय शहर मारिपोल घेराबन्दी गरेका रुसी सैनिकले मानवीय सहायता सामग्री समेत लैजान नदिएको युक्रेन सरकारको दाबी छ ।
रुसी सैनिकले मारिपोलमा गरिरहेको गतिविधि युद्ध अपराध रहेको र उनीहरुको गतिविधि इतिहासको पिँधमा जाने युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।
विगत दुई हप्ता भन्दा लामो समयदेखि मारिपोलमा रुसले गोलाबारी गरिरहेको छ । रुसी बम तथा मिसाइल–रकेटहरुको निशानामा आवासीय भवन आएका छन् । बाल अस्पताल तथा प्रसुति वार्ड पनि बमको निशानामा छन् । यस्तै सर्वसाधारणले आश्रय लिएर बसेका क्षेत्रमा पनि गोलाबारी भएको छ ।
मारिपोलका करिब ८० प्रतिशत आवासीय भवन ध्वस्त भएको वा क्षतिग्रस्त भएको छ।
