७ चैत्र, तनहुँ ।
बाख्राको दूधबाट उत्पादन हुने चीजको बिक्रि बढेसँगै तनहुँको बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रलाई बजारको माग धान्न धौ–धौ पर्न थालेको छ ।
विशेष गरी पछिल्लो समय पर्यटकीय गन्तव्यहरुमा विदेशी पाहुना र आन्तरिक पर्यटकहरुले चीज मन पराएसँगै यसको माग बढ्न थालेको हो । विदेशीहरुले चीज र वाइन खाने भएको र नेपाली चीज विदेशको भन्दा ताजा र गुणस्तरयुक्त भएको कारणले पनि पछिल्लो समय धेरै मन पराइएको बताउँछन् राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम, बन्दीपुर, तनहुँका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्य ।

अधिकृत आचार्यका अनुसार अहिले बन्दीपुरको राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रमा ६ प्रजातिका बाख्राहरु पालिएको छ । जसमध्ये बोयर र सानेन जातको बाख्राको माग भने बढीरहेको छ । उनले सानेन जातको एउटा बाख्राले एउटा सानो परिवारलाई पर्याप्त दुध पु¥याउन सक्ने बताए ।

एक दिनमा यो बाख्राले साढे दुई लिटरदेखि ४ लिटरसम्म दूध दिने गरेको उनको भनाइ छ । दुधभन्दा पनि सानेन जातको बाख्रा चीजको लागि विश्वभर प्रसिद्ध छ । पहिला इटालीबाट २५ सय रुपैयाँमा चीज किनेर नेपालमा ३५ सयको हाराहारीमा बिक्री हुने गरे पनि अहिले नेपालकै उत्पादन बजारमा बिक्री भइरहेको उनले बताए ।
उनले स्थानीयको माग, होटल व्यवसायीहरुको माग अझै पनि अनुसन्धान केन्द्रले धान्न नसकेको बताए । यो बाख्राले सबै किसिमका घाँसहरु खाए पनि पोषिलो कुरा धेरै खुवाउनु पर्ने उनको भनाइ छ । अनुसन्धान कन्द्रले अहिले चीजसँगै सानेन जातको पाठीहरु पनि बिक्री गर्दै आएको छ ।
तीनदेखि ५ महिनाको पाठीको मूल्य किलोको हिसावमा हुने र सामान्यतया बजारमा २५ देखि ३५ हजारसम्म पर्ने उनको भनाइ छ । वरिष्ठ प्राविधिक अधिकृत आचार्यले भने, ‘६ प्रजातिका बाख्राहरु पालन गरिएको छ । बोयर जातका बाख्राहरु अहिले धेरै किसानहरुले रुचाउनु भएको छ । अर्को हामीसँग सानन् जातको बाख्रा छ ।
सानेन भनेको अन्तर्राष्ट्रिय स्तरमा पनि डेरी ब्रिड हो । अहिले हामीकहाँ एभ्रेज दिनमा साढे २ लिटर दिन्छ एउटाले । एउटा सानो परिवारलाई दूध पर्याप्त पु¥याउन सक्ने बाख्रा हो । यो बाख्राको दुध पचाउनलाई अति सजिलो छ । हामी यसको दूधलाई चिज बनाउँछौँ । यहाँबाट बनेको चीज पोखरामा जान्छ ।
यसलाई दूध बढी आउने हुनाले बढी पोषिलो कुरा खुवाउनु पर्छ । नर्मली सबै घाँस खान्छन् । हामीकहाँ सय प्रतिशितको माउको मूल्य हामीले दुध छोडाएपछि ३ देखि ५ महिनामा बेच्छौँ । एउटा पाठीको मूल्य २५ देखि ३५ हजारसम्म पर्छ । नेपालमा चिजको माग बढ्दो छ । बजार क्षेत्र र पर्यटककीय गन्तव्यहरुमा यसको माग बढ्दो छ ।’
त्यस्तै राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका संयोजक राजु कँडेलले नेपालमा बाख्राको दुध भन्दा चीजको बढी माग आइरहेको बताए । उनले अहिले बन्दीपुरको बाख्रा अनुसन्धान केन्द्रबाट उत्पादित चीज पोखराका विभिन्न होटलहरुमा बिक्री हुने बताए ।

२५ सय रुपैयाँ तिरेर स्पेनबाट ल्याइएको चीज भन्दा नेपालमा उत्पादित चीज सस्तो र गुणस्तरीय भएकोले पनि पछिल्लो समय यसको माग बढेको उनको भनाइ छ । बन्दीपुरमा उत्पादित चीज किलोको ८ सय रुपैयाँमा बेच्ने गरेको र विदेशीहरुले पनि धेरै मन पराएको प्रतिक्रिया आएको उनले बताए ।
उनले केही वर्ष यता नेपालीहरुले पनि चीज धेरै मन पराउन थालेको बताए । बाख्राको दूधमा फ्याट कम र प्रोटिन बढी हुने हुँदा युरोप, अमेरिकामा गाई–भैंसीको तुलनामा बाख्राको दूध र चीजको माग उल्लेख्य रहेको छ । संयोजक कँडेलले भने, ‘नेपालमा बाख्राको दुध भन्दा पनि चिज बढी माग आइरहेको छ ।
पोखराका धेरै रिसोर्टहरुमा स्पेनबाट २५ सय रुपैयाँ केजीमा ल्याएर वाइन र चिजको कमिनेशनमा धेरै विदेशीहरुले प्रयोग गर्दछन् । राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रममा पोखराबाट होटल व्यवसायीहरुले आएर पनि ८ सयमा दिने भए हामी हेर्छौं भन्नुभयो । यहाँको चिज लगेर हेर्दा स्पेनबाट ल्याएको भन्दा पनि बढी विदेशीहरुले यो मन पराए । विगत दुई तीन वर्षदेखि बाख्राको चिजमा नेपालीहरु पनि धेरै मन पराएका छन् ।’
त्यस्तै बन्दीपुर गाउँपालिकाका अध्यष पुण्यसिंह लामा भने बन्दीपुरलाई पर्यटनसँग जोडेर उत्पादन र रोजगारी बढाउने लक्ष्यमा रहेको बताउछन् । बन्दीपुर सांस्कृतिक र ऐतिहासिक थलो भएको भन्दै उनले २० वर्षे गुरुयोजना बनाएर बन्दीपुरलाई पर्यटकीय नगरी बनाउने लक्ष्यका साथ काम गरेको बताए ।
पर्यटकलाई दुई रात, तीन दिन बसाउने वातावरण सिर्जना गर्ने र एकै दिनमा ५ देखि १० हजारको हाराहारीमा पर्यटक भित्र्याउने लक्ष्य लिएर गाउँपालिकाले काम गरेको उनको भनाइ छ । अध्यक्ष थापाले भने, ‘गुरुयोजनामा समावेश भएका विषयवस्तुमा टेकेर २० वर्षमा हामी यो गर्छौं भनेर लागेका छौँ ।
पर्यटकलाई दुई रात, तीन दिन बसाउने वातावरण बनाउने, एकै दिनमा ५ देखि १० हजारको हाराहारीमा भित्र्याउने र उत्पादन र रोजगारसँग जोड्ने भन्ने हाम्रो लक्ष्य हो । हामीले २० वर्षे गुरुयोजनामा के भनेका छौँ भने पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सहकारी र पूर्वाधार, समृद्ध बन्दीपुर गाउँपालिका निर्माणको मुल आधार भन्न मुल नारा बनाएर काम गरिरहेका छौँ ।

मुख्य हामीले पर्यटनमा किन जोड दियौँ भन्दा बन्दीपुर ऐतिहासिक थलो हो । यो पाल्पाली मुकुन्द सेन राजाको राज्य । पुरानो ऐतिहासिक ठाउँ, सांस्कृतिक सम्पदा भएको ठाउँ हो । सांस्कृतिक सम्पदाहरुलाई पर्यटनको रुपमा जगेर्ना गर्दै सम्पतिको रुपमा परिणत गर्ने हाम्रो लक्ष्य हो ।’
अध्यक्ष थापाले ऐतिहासिक सम्पदाहरुलाई पर्यटनमा बदलेर रोजगार र उत्पादन सिर्जना गर्ने लक्ष्यअनुसार ऐतिहासिक सम्पदाहरुको सुरक्षा गर्ने काम गरिरहेको बताए ।
