Nepal Times
Nepal Times
9
Shares

एसएसपी अशोक सिंहलाई कारबाही सिफारिस

एसएसपी अशोक सिंहलाई कारबाही सिफारिस

८ चैत्र, काठमाडौं ।
एसएसपी अशोक सिंहलाई कारबाही सिफारिस भएको छ ।

जुवाखालमा ‘चोरी भएको’ भनिएको चेकसम्बन्धी उजुरीमा गलत मनसाय राखेर अनुसन्धान गरेको भन्दै उनीमाथि कारबाहीको सिफारिस भएको हो ।

डिआइजी राजेशलाल कर्ण नेतृत्वको समितिले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई सोमबार प्रतिवेदन बुझाउँदै कारबाहीको सिफारिस गरेको हो । एसएसपी सिंह काठमाडौं परिसरको प्रमुख हुँदा सो घटना भएको थियो ।

सिन्धुलीका राजकुमार बरालको चेक जुवा खेल्ने क्रममा उनका साथी सुभाष भेटवालले लिएका थिए । बरालले आफ्नो चेक चोरी गरेर त्यसमा भेटवालले आफैँ रकम भरेको उनको दाबी छ । भेटवालले भने चेकमा भएको रकमको माग गरी प्रहरीमा उजुरी गरेका थिए ।

चेक बाउन्स नै नभएको अवस्थामा भेटवालले उजुरी गरेको र प्रहरीले क्षेत्राधिकारबाहिर गएर सो मुद्दाको अनुसन्धानमा बद्नियत राखेको प्रतिवेदनमा रहेको स्रोत बताउँछ । घटनाको भोलिपल्टै बरालले चेक हराएको भनेर प्रहरीमा उजुरी दिएका थिए ।

सोही निवेदनका आधारमा प्रहरीले चेक हराएको ठाउँमा जुवा खेलेको भनेर घटनास्थलको मुुचुल्का पनि गरेको थियो । जसका आधारमा जुवा मुद्दा चलाउनुपर्ने देखिएकोमा त्यसतर्फ प्रहरीले अनुसन्धान गरेन । ‘जुवा खेलेको सूचना पाउँदा पनि एसएसपीले त्यसमा अनुसन्धान नगरी लुकाएको देखियो,’ छानबिन समितिका एक अधिकारीले भने, ‘त्यसमा उहाँको नियत ठीक देखिएन भन्ने हाम्रो निष्कर्ष हो ।’

प्रहरीले भेटवालको पक्ष लिएर चेकको रकम फिर्ता गर्न काठमाडौं परिसरका तत्कालीन प्रमुख एसएसपी अशोक सिंहले दबाब दिएपछि प्रहरी विवादमा परेको थियो । सरुवा हुने दिनमा एसएसपी सिंहले भेटवाललाई चेक फिर्ता गरेका थिए ।

जुन विषयमा छानबिन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । सोही आधारमा छानबिन भएको हो । छानबिन प्रतिवेदन बुझाइएको र त्यस विषयमा सिफारिसअनुसार प्रक्रिया अघि बढ्ने प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.