काठमाडौं, २२ चैत । नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ । पहिलो चरणमा तीन जिल्लाका मत फुकाइएको छ । ललितपुर जिल्ला बार, सर्वोच्च बार इलाम र कञ्चपुर जिल्ला बारको मत फुकाइएको हो । काठमाडौंसहित देशैभरीका ३४ मतदान केन्द्रबाट मतपेटिका राजधानी ल्याइएको थियो ।
बारको २६ औँ केन्द्रीय कार्यसमितिका अध्यक्षसहित ११ पदाधिकारीसहित २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा ९ हजार ७०८ अधिवक्ताहरु मतदाताले मतदान प्रक्रियामा सहभागी भएका थिए ।
नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच मुख्य प्रतिस्पर्धा छ ।
