विराटनगर, भदौ १
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संघीयतालाई बलियो बनाउन प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसंग कुराकानी गदै उप्रधानमन्त्री यादवले प्रादेशिक अधिकारहरु प्रदेशलाईनै नदिइ संघीयता बलियो नहुने बताएका हुन् ।
उनले संघीयता बलियो नभए आर्थिक समृद्धि र मुलुकले स्थिरता समेत पाउन नसक्ने बताउदै संघीयतालाई बलियो बनाउन संबिधानमा भएका त्रुटीहरु सच्च्याएर अघि बढ्नुपर्ने बताए ।
उपप्रधानमन्त्री यादवले देश अब केन्द्रिकृत, एकात्मक र गैर लोकतान्त्रिक प्रणालीमा फर्कने सम्भावना नरहेपनि केहि परम्परागत सोच भएका र केन्द्रीकृत प्रणालीमा हालीमुहाली गरेकाहरु मुलुकलाई त्यतैतिर धकेल्ने प्रयास गरिरहेको दाबी समेत गरे ।
उनले कर संकलन प्रणालीलाई उचितरुपमा ब्यवस्थापन गर्न नसकिएका कारण केहि समस्या देखिएको बताउदै ती समस्याहरु बिस्तारै समाधान हुने बताए ।
स्वास्थ्य मन्त्री समेत रहेका यादवले भविष्यमा नेपाल चिकित्सा र मेडिकल हबको रुपमा बिकास हुने प्रशस्त सम्भावना रहेकाले दक्ष चिकित्सक र हेल्थ वर्कफोर्स उत्पादन गर्नेगरी चिकित्सा शिक्षा अध्ययनलाई अगाडी बढाउनेगरि काम भइरहेको जानकारी दिए ।