काठमाडौं, २४ चैत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले संसदीय व्यवस्था संकटग्रस्त भएको बताएका छन् । जनआन्दोलन दिवसको अवसरमा बिहीबार भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै विप्लवले संसदीय व्यवस्था असफल भइसकेको दाबी गरे ।
‘आज पनि जनताको जीवनमा खास परिवर्तन भएको छैन । जनताले अनुभूति गर्नेगरी परिवर्तन भएको छैन’, उनले भने, ‘संसदीय व्यवस्था मुठिभरका पुँजीपति वर्गको व्यवस्था हो । देशलाई टाट पल्टाउने व्यवस्था हो । जनताको पक्षमा काम गर्न नसकेकाले यो व्यवस्था असफल भएर संकटग्रस्त भएको छ ।’
जनता जागरुक हुँदै गएपछि संसदीय व्यवस्था ढाल्न फेरि २४ चैत आउने उनले बताए । राजसंस्थाविरुद्ध नेपालमा २४ चैत २०६२ मा जनआन्दोलन सुरु भएको थियो । १९ दिन चलेको जनआन्दोलनले राजसंस्थाको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था ल्याएको थियो ।
संसदीय व्यवस्था दलाल पुँजीपति वर्गको व्यवस्था भएको भन्दै उनले जनताले शासन गर्न पाउने व्यवस्था ल्याउन वैज्ञानिक समाजवादको व्यवस्था लागू गर्नुपर्ने बताए । नेकपाले कहिल्यै पनि संसदीय व्यवस्थालाई स्वीकार नगर्ने भन्दै उनले यो व्यवस्था दलाल र पुँजीपति वर्गको मात्रै व्यवस्था भएको बताए ।
‘यदि चुनाव नै गर्नुपर्छ भने ठिक छ । संसदीय व्यवस्थाको चुनाव होइन । संसदको चुनाव होइन । जनमत संग्रह गरौँ । व्यवस्थाको चुनाव गरौँ । नेपालमा संसदीय व्यवस्था ठिक कि वैज्ञानिक समाजवाद ठिक । हामी त्यसका लागि तयार छौँ,’ उनले भने ।
