काठमाडौं, २७ चैत । नेपाल चेम्बर अफ कमर्सले सरकारले निरन्तर आयातमा संकूचन गर्दै जाँदा अर्थतन्त्रमा थप समस्या आउन सक्ने जनाएको छ ।
चेम्बरको ७१औँ वार्षिक साधारणसभामा अध्यक्ष राजेन्द्र मल्लले आयात नियन्त्रणले मात्रै समस्या समाधान नहुने भएकाले विकल्प सोच्न आग्रह गरेका हुन् । ‘आयातलाई निरुत्साहित गर्दा अर्थतन्त्रमा थप संकूचन देखिन सक्छ,’ अध्यक्ष मल्लले भने । उनले दीर्घकालीन उत्पादन वृद्धिमा सरकारले ध्यान दिनुपर्ने र देशको स्रोतसाधनको उपयोग बढाउनु पर्ने बताए ।
‘कृषि, पर्यटन, जलस्रोतको प्रवर्द्धन गर्न सरकार र निजीक्षेत्रबीच हातेमालो गरेर अगाडि बढ्नुपर्ने देखिन्छ,’ उनले भने । अध्यक्ष मल्लले कृषि कर्जा खेत किन्नेलाई नभई खेती गर्नेलाई दिन आग्रह गरे । उनले कोरोना नियन्त्रणमा रहेकाले अर्थतन्त्र पुनरुत्थानको योजना ल्याउनुपर्ने बताए । अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकार र निजीक्षेत्रबीच हातेमालो आवश्यक रहेको बताए ।
सरकारका मुख्यसचिव शंकरदास बैरागीले सरकार व्यवसायमैत्री वातावरण बनाउन केन्द्रित भएको बताए । ‘सरकार व्यवसायमैत्री वातावरण बनाउन लागि पर्दै आएको छ । खुला छलफलबाट उपयुक्त नीति अवलम्बन गर्न चाहन्छ,’ बैरागीले भने ।
उनले अर्थतन्त्रमा केही चुनौती देखा परे पनि यसको समाधान गर्न सरकार सक्षम रहेको बताए ।
