५ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताएका छन् ।
बिहीबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले आंशिक कमीकमजोरी भए पनि निर्वाचनमा गठबन्धन सफल भएको बताए ।
‘गठबन्धन सफल भयो । आंशिक रुपमा भएका कमीकमजोरीहरुलाई हामी सच्याउँछौ, समीक्षा गर्छौं ।
गठबन्धनकै कारण उल्लेख्य रुपमा गठबन्धनको पक्षमा जनमत पनि प्रकट भएको छ,’ मन्त्री पौडेलले भने ।
उनले नेकपा माओवादी केन्द्र आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म यही गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको समेत बताए ।संविधान र राजनीतिक प्रणाली अझै पनि खतरामा रहेको भन्दै उनले त्यसका लागि गठबन्धन आवश्यक रहेको बताए ।
मन्त्री पौडेलले कांग्रेसले माओवादी केन्द्रलाई भोट नहालेको भन्ने कुरा साँचो नभएको बताए । केही ठाउँमा त्यस्तो भए पनि सबै ठाउँमा नभएको उनको भनाइ छ ।
स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र पहिलेभन्दा अझै सुदृढ भएको समेत पौडेलले बताए ।