१७ जेष्ठ, पर्सा । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको कार्यान्वयनमा वीरगञ्जका उद्योगी व्यापारीहरुले चिन्ता व्यक्त गरेका छन् ।
आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा सरकारले सबै क्षेत्रलाई समेटेको भए पनि बजेटको कार्यान्वयन गर्न सक्ने वा नसक्ने भन्नेमा चुनौती रहेको उनीहरुको धारणा छ ।
सरकारले जेठ १५ गते आगामी वर्षका लागि बजेट सार्वजनिक गरेको थियो । नयाँ बजेट उद्योगी–व्यवसाय क्षेत्रका लागि राम्रो भएपनि कार्यान्वयन हुनेमा ढुक्क नरहेको उनीहरूको प्रतिक्रिया छ ।
उद्योग वाणिज्य संघ मधेस प्रदेशका अध्यक्ष गणेश लाठले सरकारले बजेटमा उद्योगीहरुलाई मासिक १० करोड रुपैयाँको विद्युत खपत गर्ने उद्योगलाई सहुलियत दिएको बताए । तर १० करोड रुपैयाँको विद्युत खपत गर्ने उद्योग नेपालमा न्यून रहेको उनको भनाइ छ ।
त्यस्तै वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले नयाँ बजेट चुनावी बजेटका रूपमा आएको प्रतिक्रिया दिए ।
उनले सरकारले नयाँ बजेटमार्फत सबैलाई खुशी पार्न खोजे पनि सरकारसँग ढुकुटी नै नरहेको बताए । उनले बजेट कार्यान्वयन गर्न कठिन रहेको जिकिर गरे ।
उनले भने, ‘नयाँ बजेटमार्फत १८ प्रतिशत राजश्स्व उठ्ने परिकल्पना गरिएको छ । राजश्स्व उठाउने विश्वासिलो आधार छैन, साथै राज्यसँग खर्च गर्ने क्षमता पनि छैन ।’